काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ३३ किलो अवैध सुन बरामदपछि भएको सनम शाक्यको हत्या प्रकरणमा मुछिएका डिएसपी सञ्जय राउत गृहमन्त्रालयको सम्पर्कमा आएका छन् ।

विमानस्थलबाट अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरणमा अनुसन्धानका लागि बुधबारमात्रै डिएसपी राउतलाई खोज्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयमा सर्कुलर पठाएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरिएकै भोलिपल्ट राउत गृहमन्त्रालयको छानबिन समिति र प्रहरीको सम्पर्कमा आएका हुन् ।

गृहमन्त्रालयले बयानका लागि बुधबार उनलार्इ बोलाएको थियो । तर उनी अचानक गायब भएपछि सर्कुलर जारी गरिएको थियो । डिएसपी राउत इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत रहँदा ३३ किलो सुन तस्करीमा भरियाकारूपमा प्रयोग भएका सनम शाक्यको हत्या भएको थियो ।

सनम हत्याकाण्ड अनुसन्धान गर्न पुगेका एसएसपी दिवेश लोहनी र राउतबीच सम्पर्क देखिएपछि अनुसन्धानमा तानिएको थियो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा यसअघि नै छानबिनमा तानिइसकेका छन् ।

प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएपछि त्यो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी छानबिनमा परेका थिए । सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

यसअघि बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बिकासराज खनाललाईसमेत प्रहरीले आन्तरिक हिरासतमा लिएको थियो।

३३ किलो सुन तस्करी प्रकरणमा समितिले २० जनालार्इ पक्राउ गरिसकेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ परेकामध्ये प्रहरीका दुई बहालवाला अधिकृत छन् भने एकजना पूर्वडिआर्इजी पनि परेका छन् । अन्नपूर्ण पोस्ट बाट साभार