काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन र मोरङका सनम शाक्य हत्या प्रकरणमा बयान लिँदा लिँदै गृह मन्त्रालयबाट बेपत्ता भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) पक्राउ परेका छन् ।

गृह मन्त्रालयमा बयान दिन पुगेका बेला ट्वाइलेट जान्छु भन्दै बेपत्ता भएका डिएसपी सञ्जय राउत २४ घण्टापछि पक्राउ परेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राउत बयान दिन गएका बेला मंगलवार दिउँसो गृह मन्त्रालयबाटै बेपत्ता भएका थिए । २४ घण्टापछि उनी आफैं सम्पर्कमा आएका गृह मन्त्रालय स्रोतले जनाएको छ । आफैं सम्पर्कमा आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौड्यालको संयोजकत्वमा गठित समितिले राउतसँगै बिहीबार बयान लिने र त्यसपछि थप अनुसन्धानका लागि मोरङ पठाउने तयारी गरेको छ ।

३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआईजी, बहालवाला एसएसपी, एसपी, डिएसपी र सई तानिसकेका छन् ।

पूर्व डिआईजी गोविन्द निरौला, वहालवाला एसपी विकासरात खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ३३ किलो सुन प्रकरणमा प्रहरीबाहेक अन्य २० जनालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ । पहिलोपोष्टबाट