बिहीबार एकै पटक ६० प्रमुख जिल्ला अधिकारीहरुको सरुवा हुँदा सामान्य प्रशासन मन्त्रालयले ६ जना सहसचिवको पनि सरुवा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको विशेष आग्रहमा अर्थका सहसचिवहरुको व्यपाक हेरफेर गरिएको हो ।
जसअन्तर्गत गृहमन्त्रालयका श्यामप्रसाद भण्डारीलाई अर्थमा सरुवा गरिएको छ । त्यस्तै, लोकसेवा आयोगमा कार्यरत झकप्रसाद आचार्य अर्थ मन्त्रालय सरुवा भएका छन् । अर्थमन्त्रालयमा कार्यरत मुकुन्द निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा गरिएको छ । यता, सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव प्रकाश दाहाल श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएका छन् ।
अर्थ मन्त्रालयमै कार्यरत शोभाकान्त पौडेल लोकसेवा आयोगमा सरुवा भएका छन् भने गृहमन्त्रालयका विनोदप्रसाद सिंह सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका छन् ।










