प्रकाश न्यौपाने भैरहवा । गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकमा कुनै पनि किसिमको सिन्डीकेट सरकारलाई मान्य नहुने बताएका छन् । लुम्बिनी प्रेस क्लबद्वारा शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले सबै क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने बताउँदै सरकारले यातायातलगायत सबै क्षेत्रको सिन्डीकेट र तस्करीलाई नियन्त्रण गर्ने बताए ।
‘मुलुकको अधिकांश क्षेत्र सिन्डीकेट र तस्करीको जालोमा छ’, मन्त्री थापाले भने– ‘सरकारलाई यस्ता गतिविधि शैह्य हुँदैन, यसलाई निस्तेज पार्न हामीले यातायात क्षेत्रबाट पहलकदमी सुरु गरेका छौं, विस्तारै सबै क्षेत्रमा हटाउँछौं ।’
३३ किलो सुन काण्डमा संलग्न कसैलाई पनि नछाड्ने बताउँदै मन्त्री थापाले मुलुकमा ब्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्ने दावी गरे । ‘विकासको एउटा समस्या भनेको भ्रष्टाचार पनि हो’ उनले भने– ‘स्थिर र बलियो सरकार छ गलत गर्ने र भ्रष्टाचार गर्नेलाई कडा कारबाही गछौं ।’ पछिल्लो समय घरेलु हिंसा, महिला हिंसा र लागूऔषधजन्य क्रियाकलाप बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री थापाले त्यसतर्फ सरकारले ठोस कदम चाली नियन्त्र गर्ने बताए ।
प्रहरीको प्रादेशिक संरचना निर्माण गर्न ऐन नबन्दासम्म सरकारले जारी गरेको निर्देशिकाबाट संरचना निर्माण थालनी गर्ने मन्त्री थापाको भनाई छ । फरक प्रशंगमा मन्त्री थापाले एमाले–माओवादीबीच छिट्टै पार्टी एकता हुने बताए । उनले पछिल्ला वार्ताहरु निर्णायक बन्दै गइरहेको बताउँदै एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने दावी गरे । मन्त्री थापा आज बुटवलमा हुने पाँचनम्बर प्रदेश स्तरीय सुरक्षा बैठकमा सहभागी हुन रुपन्देही आएका हुन् ।










