स्थानीय तहहरु धमाधम प्रविधिमैत्री बन्न थालेका छन् । झापाकाे हल्दिबारी गाउँपालिकाले विद्युतीय हाजिरी प्रणाली सुरु गरेको केही दिनमै कन्काई नगरपालिकाले पनि यो प्रणालीको उद्घाटन गरेको छ । यसबाहेक कन्काईले आफ्नै मोबाइल एप ‘कन्काई नगरपालिका’ समेत सञ्चालनमा ल्याएको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी मोबाइल एप र विद्युतीय हाजिरी प्रणाली सञ्चालन गरिएको जानकारी गराएको हो । नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले विद्युतीय हाजिरी प्रणाली र मोबाइल एपको उद्घाटन गरे । मोबाइल एप प्रयोगमा आएसँगै अब कन्काई नगरपालिकाभित्रका सबै वडाका पञ्जीकरण अनलाइनबाटै दर्ता हुने भएको छ । अहिलेसम्म नगरपालिका कार्यालयमा मात्र पञ्जीकरण अनलाइनमा दर्ता भइरहेको थियो । अब भने वडाको पञ्जीकरण दर्तासमेत अनलाइनमै हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र कार्कीले जानकारी दिए । वडा सचिवलाई तालिम कन्काईकी उपमेयर मञ्जु प्रसाईंका अनुसार वडा सचिवहरुलाई अनलाइनबाटै काम गर्न सिकाउनका लागि नगरपालिकाले ६ दिने कम्प्युटर तालिमसमेत दिएको थियो । उक्त तालिम शुक्रबार सकिएको छ । ‘अनलाइन सिस्टममा जानुपर्छ भनेर मोबाइल एपसमेत प्रयोगमा ल्याएका हौँ,’ प्रमुख प्रशासकीय अधिकृत कार्कीले भने, ‘अब फारम भर्ने, सूचना पठाउने, निवेदन दिने, करको दररेटहरु थाहा पाउनेलगायतका काम एपबाटै गर्न सकिन्छ ।’
कर्मचारीहरुको नियमितताका लागि विद्युतीय हाजिरी प्रणाली लागु गर्न लागिएको उनले बताए । यसले धेरै कुरामा सुधार आउने नगरपालिकाको विश्वास छ । नगरपालिका कार्यालय, वडा कार्यालय, नगरभित्रका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा विद्युतीय हाजिरी प्रणाली जडान कार्य धमाधम भइरहेको छ । यी सबै कार्यालयको हाजिरीको रेकर्ड नगरपालिका कार्यालयमा मात्र रहने जनाइएको छ । कन्काईमा १४ वटा सामुदायिक विद्यालय र २ वटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । साढे पाँच लाख लगानी नगरपालिकाले ४ लाख ५० हजार रुपैयाँमा विद्युतीय हाजिरी प्रणाली र १ लाख रुपैयाँमा एप सञ्चालनमा ल्याएको हो । विद्युतीय हाजिरी प्रणाली १ जेठबाट लागु गरिने नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले बताए । मोबाइल एप सूचनाको हक प्रबद्र्धन गर्ने ठूलो माध्यम बन्न सक्ने मेयर पोखरेलको विश्वास छ । ‘कन्काई नगरपालिकालाई प्रविधिमा एक कदम अगाडि बढाउन खोजिएको हो,’ मेयर पोखरेलले भने, ‘कार्यालयलाई प्रविधिमैत्री बनाउने नीतिअनुरुप मोबाइल एप र विद्युतीय हाजिरी प्रणाली ल्याइएको हो ।’ विद्युतीय हाजिरी प्रणाली उद्घाटन कार्यक्रममा नगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक कर्मचारीको उपस्थिति थियो । अनलाइनमा पाइने सुविधाहरु अनलाइनमा व्यवसाय दर्ता, चार किल्ला प्रमाणित, बिजुली मिटर जडान, घरबाटो सिफारिस, नक्सा उपलब्ध गराइदिने सिफारिस र अन्य सिफारिसहरुको सुविधा रहेको बताइएको छ । अन्य विषयमा पनि कन्काई नगरपालिका अगाडि देखिन्छ । कन्काई नगरपालिका मुलुककै पहिलो विद्युत चुहावटमुक्त नगरपालिका हो । झापाका ८ वटा नगरपालिकामध्ये कन्काई नगरपालिका सबैभन्दा पहिले खुला दिसामुक्त घोषणा भएको थियो । नगरपालिकाले राजस्व तथा एकीकृत सम्पत्ति कर वडा कार्यालयबाटै तिर्न पाउने व्यवस्था मिलाइने जनाएको छ










