काठमाडौं । एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला पनि ऊ त्यसमै रमाइरहेको छ । प्रविधिको सबैभन्दा सजिलो उत्पादन मोबाइल त अहिले मानिसको दैनिक जीवन नै भइसकेको छ । मानिस हरपल मोबाइलमा गफिइरहेको हुन्छ, म्यासेन्जरको च्याटिङमा व्यस्त भइरहेको हुन्छ ।
मानिसले आफ्नो दैनिक कार्यतालिका मोबाइलबाटै निर्धारण गर्छ । दूरदराजको काम तत्काल मोबाइल फोनकै भरमा गर्न सक्छ । अर्थात् मोबाइलले मानिसको आधा क्षमताको विकास र समय बचत गरेको हुन्छ । त्यसैले, अहिले मोबाइलविनाको जीवन कसरी सम्भव होला भन्ने बहस सुरु भएको छ । त्यसो भए, मोबाइल नबोक्दा दैनिक कार्यतालिका चल्न सम्भव नै छैन त ? धेरैलाई लाग्छ, मोबाइल नबोक्नु वा नचलाउनु आफैँलाई दुःख दिनु हो । यस्तो अवस्थामा पनि समाजका केही नागरिक अगुवाको दैनिकी मोबाइलविना नै चलिरहेको छ । मोबाइलविना पनि नियमित र समयबद्ध दैनिक कार्यतालिका सञ्चालन सम्भव छ भन्ने उनीहरूको जीवन पद्धतिले देखाएको छ ।नयाँपत्रिकाबाट
निजी सचिवको मोबाइलमा कुराकानी शेरबहादुर देउवा, सभापति, कांग्रेस कांग्रेस सभापति शेरबहादुर देउवा चारपटकसम्म प्रधानमन्त्री भइसकेका छन् । उनी पहिलोपटक प्रधानमन्त्री भएका वेला नेपालमा सूचना, सञ्चार तथा प्रविधिको विकास भएको हो । तर, देउवा आफैँ भने निजी मोबाइल फोन प्रयोग गर्दैनन् । मोबाइल नबोके पनि उनले स्वकीय सचिव भानु देउवाको मोबाइलबाट कुराकानी गर्ने गरेका छन् ।
कांग्रेस सभापति देउवासँग कुराकानी गर्नुपर्ने भए वा भेटघाटका लागि समय मिलाउनुपरेमा भानु देउवाको मोबाइल टिपाउने गर्छन् । कांग्रेस नेताहरू मात्र होइन, अन्य दलका नेता तथा कूटनीतिक नियोगबाट कुराकानी गर्नुपर्ने भएमा पनि उनकै मोबाइल प्रयोग हुन्छ ।
कतिपय अवस्थामा देउवाले श्रीमती आरजु राणा देउवाको मोबाइलबाट पनि कुराकानी गर्दै आएका छन् । देउवाको आफ्नै मोबाइल भने नरहेको उनका स्वकीय सचिव भानु देउवा बताउँछन् । ‘सभापतिले मेरो मोबाइलमा कुराकानी गर्नहुन्छ, त्यसबाहेक मोबाइल खेलाउने वा अन्य केही गतिविधि गर्नुहुुन्न,’ भानुले भने ।










