प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटपछि बालुवाटारमा शुक्रबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने,‘सहमति भइसकेको छ, वाम एकता हुन्छ ।’

१४ वैशाखमा एकताको मिति तय हुने बताएका प्रचण्डले घोषणा मितिका बारेमा भने खुलाएनन् । अझै विवादीत विषय बाँकी रहेकाले एकताको घोषणाको तिथि तय हुन सकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२८ वैशाखमा नेपाल भ्रमणको तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुपूर्व नै पार्टी एकताको तयारीमा ओली–प्रचण्ड रहेका छन् । एउटा ठूलो वामपन्थी पार्टीको बहुमतको एकल सरकार बनाएर मोदीको स्वागतको तयारी भएको बताइन्छ । यसको अर्थ २८ वैशाखअघि नै पार्टी एकीकरण घोषणा गर्ने तयारी दुई अध्यक्षको छ ।

नेतृत्व, सांगठनिक व्यवस्थापनलगायतका विषयमा सामान्य छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । माओवादीले भने सम्मानजनक, न्यायोचित एकताको खोजी गरिरहेको दाहाल सचिवालयले जनाएको छ ।

दुई पार्टीबीच सैद्धान्तिक तथा वैचारिक विषयमा सहमति जुटे पनि नेतृत्व तथा सांगठनिक व्यवस्थापनमा सहमति बाँकी छ ।

७ फागुनमा नै पार्टीको लक्ष्य समाजवाद रहने र विचार तथा मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद (माले) रहने सहमति गरेका दुई दल मुख्य नेतृत्व र एकतापछिको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने भन्ने विषयमा अड्किएका छन् ।

चुनाव चिह्न, पार्टी विधानमा जनयुद्धको विश्लेषणको विषय पनि मिल्न बाँकी छ । दुई पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको २३–२५ चैतको भारत भ्रमणअघि नै एकता सम्पन्न गर्ने तयारी असम्भव भएको थियो ।

पार्टी एकताको खाका तय गर्न गठित दुई कार्यदलमध्ये सांगठनिक तथा विधान मस्यौदा कार्यदलले चुनाव चिह्न र विधानमा जनयुद्धको विश्लेषणको विषय टुंग्याउन बाँकी राखेर प्रतिवेदन बुझाएको थियो । एमाले नेता सुवास नेम्वाङका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल केही दिन उपत्यकाबाहिरका कार्यक्रममा व्यस्त हुने भएकाले फर्किएपछि एकता प्रक्रिया अघि बढ्ने बताए । दैनिक नेपाल बाट साभार