काठमाडौं । वीपी पुत्र प्रकाश कोइराला नयाँ राष्ट्रवादी शक्ति निर्माणमा लागेका छन् । उनले वीपीको राजनीतिक दर्शनमा आधारित शक्ति संगठित नभए देशले गम्भीर संकट भोग्नुपर्ने अवस्था आईरहेको निष्कर्षमा पुगेर आफूलाई सक्रिय बनाएका हुन्। उनी स्वयं भने पर्दापछाडी बसेर केही नेता र शुभेच्छुकसँग लामो परामर्शपछि राष्ट्रवादी राजनीतिक शक्ति बनाउन सक्रिय भएको थाहा भएको छ।

कोइराला निकट एक सूत्रका अनुसार,वीपी पुत्र प्रकाशको सल्लाहमा अहिले राप्रपाबाट अलग भएका डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी र कांग्रेसका पुराना नेता हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (वीपी) बीच पार्टी एकिकरण गर्ने सैद्धान्तिक सहमति भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार बिहान बिजुलीबजारस्थित वीपी चिन्तन प्रतिष्ठानको कार्यालयमा दुई पार्टी वीच भएको छलफल पछि पार्टी एकता गर्ने सहमति भएको नेपाली कांग्रेस (वीपी) नेता पुष्पराज पराजुलीले सरल पत्रिकासँग बताए ।

पृथ्वीनारायण शाह र वीपी कोइरालाई आदर्श मानेर एकता गर्ने समझदारी बनेको बताईएको छ । सहमति भएअनुसार दुई पार्टीबीच एकता गर्नेबारेको सैद्धान्तिक लिखित दस्तावेज तयार गर्न एराप्रपा राष्ट्रवादीका झनक प्याकुरेल र नेपाली कांग्रेसका (वीपी)का पुष्पराज पराजुलीलाई जिम्मा दिइएको छ ।

प्याकुरेल र पराजुलीलाई दस्ताबेज तयार गर्न एक साताको समय दिइएको र प्रतिवेदन प्राप्त हुनासाथ संयुक्त बैठक बसेर एकताको मिति घोषणा गरिने तयारी छ।

दुबै पार्टीका अध्यक्षसहित एराप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, झनक प्याकुरेल, तानाराना लुईटेल र जनकराज पाठक तथा नेपाली कांग्रेस वीपीको तर्फबाट पराजुली, सुशीलमान शेरचन, हरिबोल भट्टराई देबेन्द्र पौडेल र प्रणय सिंह बैठकमा उपस्थित थिए।

तत्कालीन शाही सरकारमा मन्त्री बनेको आरोपमा पार्टीको अनुशासन कार्बाहीमा परेको प्रकाश कोइराला यतिन्जेल सक्रिय राजनीतिमा देखिएका छैनन्। विभिन्न समयमा कार्बाहीमा परेका अरु नेताहरुलाई सफाई दिईए पनि कांग्रेसले प्रकाशलाई पूर्वाग्रहवश सफाई नदिएको बताईन्छ। काका गिरिजाप्रसाद कोइराला र त्यसपछि सुशील कोइराला सभापति हुँदा पनि प्रकाशमाथिको कार्बाही फुकुवा गरिएन । उनलाई पार्टीभित्र सक्रिय हुननदिन नै यसरी पूर्वाग्रह राखिएको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् ।