विष्णु विश्वकर्मा/उज्यालो । काठमाडौँ, वैशाख १६ – स्वतन्त्र रेडियो स्थापना भएको दुई दशक पूरा हुँदा विगतका केही तीतामीठा कुरा कोट्याउनैपर्छ । जसले कठिन अवस्था, असम्भव नै मानिने र धेरैका लागि सपना जस्तो लाग्ने तर अहिले जिल्ला जिल्ला, बजारका चोक चोकदेखि गाउँघरकै अग्ला डाँडामा राखिएका टावरबाट गुञ्जिने रेडियोको इतिहास बोल्छ ।

२००७ सालमा प्रजातन्त्र स्थापना र रेडियो नेपालको यात्रा सँगसँगै शुरु हुँदा समाचार बाचक र कार्यक्रम सञ्चालक ‘हिट’ हुन्थे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारी सञ्चार संस्था भएर होला रेडियो नेपाल सबैका लागि परिचित भएपनि पहँुुचमा थिएन । आमनागरिकका पीडा, समस्या सुनेर जस्ताको तस्तै नागरिकलाई नै सुनाउन र सत्ताको बागडोर सम्हाल्नेलाई झक्झकाउन सिंहदरबारभित्रको अग्लो ‘टावर’बाट सम्भव थिएन । यसका लागि नागरिककै बीच बस्तीमा रेडियोको ‘एन्टेना’ गाड्नुपर्ने थियो । तर त्यो सजिलो थिएन ।

२०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि स्वतन्त्र रेडियोको परिकल्पनाले आकार लिन सुरु गर्‍यो । २०५२ सालमा नेपाल वातावरण पत्रकार समूह दक्षिण एसियामै पहिलोपटक स्वतन्त्र रेडियोको परिकल्पनालाई आकार दिएर औपचारिक प्रक्रियामा लाग्यो । त्यसको दुई वर्षपछि २०५४ सालमा रेडियो सगरमाथाले स्वतन्त्र रेडियो प्रशारणको अनुमति पायो ।

स्वतन्त्र रेडियोका दुई दशकमा धेरै उतारचढाव आएको छ । स्वतन्त्र रेडियोका अभियन्ता तथा लेखक विनय कसजूले जवाफ फर्काउनुभयो ‘स्वतन्त्र रेडियो धेरैका लागि सपना र आवश्यकता थियो । थोरैले आवश्यक नै ठानेर लागेपछि सबैको पहुँचमा पुर्‍याउन सम्भव भएको हो ।’

‘रेडियो नागरिकका हातमा गएपछि हाम्रो मनपरी चल्दैन भन्ने डर नेता, मन्त्रीभन्दा बढी त्यतिबेलाका कर्मचारीमा थियो’ कसजू सम्झनुुहुन्छ ‘तर अभियन्ताहरुले सरकारका मन्त्रीलाई ‘कन्भिन्स’ गर्न सफल भएपछि अहिले सबैको पहुँचमा रेडियो आएको हो ।’

ज्ञानेन्द्रलाई घुँडा टेकाउने रेडियो ! राजा वीरेन्द्रले स्वतन्त्र रेडियो चलाउन अनुमति दिए पनि ज्ञानेन्द्रले भने आफ्नो शासनको शुरुवात नै ‘प्रेस’ रेडियोमाथि अंकुश लगाएर गरेका थिए । यसका विरुद्ध राजनीतिक दलका नेता, नागरिकदेखि धेरै सञ्चारकर्मी समेत सडकमा आए ।

स्वतन्त्र नागरिकका कुण्ठालाई दुई हप्ता जसोतसो थेगेपनि तेश्रो हप्तामा ज्ञानेन्द्रले घुँडा टेके । ‘तत्कालीन राजा ज्ञानेन्द्रलाई घुँडा टेकाउन स्वतन्त्र रेडियो अर्थात अहिलेका एफ.एम. स्टेशनको ठूला हात छ’ कसजू भन्नुहुन्छ ‘पूर्वराजा ज्ञानेन्द्रविरुद्धको २०६२÷६३ को जनआन्दोलनले देशमा लोकतन्त्र मात्रै आएन । गाउँ गाउँमा लोकतन्त्रसँगै बोल्न पाउने र आफ्ना समस्या सरकारलाई सुनाउन सक्ने गरी स्वतन्त्र रेडियो सञ्चालनको लहर नै आयो ।’

लोकतन्त्रपछि सिंहदरबारसँग बलियो सम्बन्ध बनाएका राजनीतिक दलका नेता कार्यकर्ताले आफ्ना जिल्लामा रेडियो खोल्न ‘लाइसेन्स’ धमाधम हात पार्न थाले । त्यसपछि त रेडियो नेपाललाई सिंहदरबारकै ‘बुढो बाघ’ बनाएर जिल्ला जिल्लामा एफ.एम. स्टेशनले ‘राज’ गर्न थाले ।

अनि गुणस्तर खस्कियो रेडियो नेपालका केही समाचार बाचक र कार्यक्रम सञ्चालक अहिले जति चर्चित छन्, त्यति नै चर्चित जिल्लादेखि केन्द्रकै रेडियो नेटवर्क र एफ.एम.मा शुरुवाती चरणमा काम गर्ने सञ्चारकर्मी पत्रकार पनि छन् ।

नाम लिँदा लामो हुन सक्छ । तर ती नाम चर्चित भएपनि पछिल्लो पुस्ताले भने आफूलाई त्यति ‘वजनदार’ बनाउन सकेको छैन् ।

कारण हो, राजनीति र कोठे पत्रकारिता । ‘आवाज विहीनको आवाज भनेर स्थानीय रेडियोले स्लोगन बजाएपनि कुनै विकट गाउँको नागरिकले आफ्नो समस्या त्यो रेडियोलाई सुनाउन पाएनन्’ कसजू भन्नुहुन्छ ‘राजनीति र नेताकै वरिपरी गर्ने पत्रकारिताले उनीहरुलाई यो हाम्रो समस्या सुन्ने रेडियो हो भन्ने भान पार्न सकेन ।’

रेडियोको गुणस्तर खस्कनुको अर्को कारण हो, च्याउ उम्रे जस्ता रेडियो खुलेर अस्वस्थ प्रतिष्पर्धा गर्नु । ‘त्यो भन्दा म के कम भन्दै रेडियो खोल्दै आफूलाई जे ठीक लाग्यो त्यही बोल्ने र सुनाउने कुराले रेडियोलाई रेडियो बनाउन सकेन’ उहाँ भन्नुहुन्छ ‘यसरी जिल्ला जिल्लाका धेरैजसो रेडियो अहिले घरका टेप रेडियो जस्तै बजिरहेका छन् । जो किनेर ब्याट्री हालेपछि पुग्यो ।’

‘रेडियोबाट प्रशारण हुने हरेक सामग्रीमा कुनै न कुनै विशेषता हुनु । अधिकार र कर्तव्य बाँड्नु । एउटा रेडियोले गीत बजाएर कार्यक्रम चलाउने भए अर्कोले समाचार मात्रै प्रशारण गर्नु । यसैगरी कुनैले नागरिकका जिज्ञासा र समस्यालाई समाधान गर्ने केन्द्रका रुपमा रेडियोलाई प्रयोग गरेको भए अहिले रेडियोमा काम गर्ने मान्छे खोज्नु पर्दैन्थ्यो । काम गर्नेहरुले पनि छाड्नु पर्दैन्थ्यो ।’

यसका पछाडि सरकारको पनि दोष छ । सरकारले रेडियो सञ्चालनको इजाजत दिँदा सामुदायिक या व्यवसायिक रेडियो भनेर किटान गरेर त्यहीअनुसार प्रशारण अधिकारको दायर तोक्नुपथ्र्यो । ‘छिमेकी देश भारतले जस्तो कडा मापदण्ड बनाएर सरकारले रेडियोलाई नियमन नै गर्न सकेन’ कसजू भन्नहुन्छ ।

अनलाइन र सामाजिक सञ्जालको चुनौती अहिले सूचना, मनोरञ्जन र समाचारका लागि सामाजिक सञ्जाल सबथोक बनिरहेका छन् । पहिला यसैका लागि रेडियो र एफ.एम. ट्युन गरिन्थ्यो । घरमा रेडियो किनिन्थ्यो र तकै टाढा जाँदा पनि रेडियो बोकेर लगिन्थ्यो ।

तर अहिले हरेकसँग मोबाइल छ । त्यसैमा रेडियो पनि छ । तर निकै कम सुनिन्छ । बरु छिनछिनमा फेसबुक, ट्वीटरमा मान्छेका आँखा दौडिरहेका छन् । त्यसैमा अनलाइनबाट शेयर भएका समाचार पढीसक्नु छैन । गीत सुन्न, भिडियो हेर्न र एक अर्कासँग चिनजानका लागि कुराकानी गर्न त झन् कति हो कति ? यी सब कुरा मोबाइलमै भएपछि एअरफोन घुसाएर, एरिएल तन्काएर किन सुन्नुपर्यो रेडियो ?

समयदेखि लेखन, सामुदायिक रेडियोको अनुसन्धान र वकालतमा लागिरहनु भएका कसजू भन्नुहुन्छ ‘जति सकिन्छ सामाजिक सञ्जाललाई रेडियोका लागि प्रयोग गरौँ । अनि जसका कुरा सुनाउनुपर्ने हो उसैलाई बोल्न लगाउँ । किसानका कुरा पत्रकारले बोल्न सक्दैन् । बोलेपनि त्यो किसान होइन ।

किसानले किसानका कुरा सुनेपछि त्यो सबै किसानलाई विश्वास लाग्छ र त्यो मेरो वा हाम्रो आवाज हो भन्ने लाग्छ । अनि मात्र हाम्रो रेडियो पत्रकारिताको धर्म पुरा हुन्छ । किनकी आफ्नो आवाज सबैलाई मीठो लाग्छ ।’ उज्यालो अनलाइन बाट साभार