लुम्बिनी १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको जन्मस्थलबारे विवाद र बहस गर्न आवश्यक नभएको बताएका छन् ।

२५६२ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले लुम्बिनीमा सोमबार गरेको कार्यक्रममा प्रधानमन्त्रीले बुद्ध नेपालमै जन्मिएको दोहोर्‍याउँदै दोधार हुन आवश्यक नभएको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘‘भारतका सम्राट अशोकले पनि अशोक स्तम्भ बनाएर बुद्ध नेपालै जन्मिएका भनेर गएका छन्’’ प्रधानमन्त्रीको प्रश्न थियो, ‘‘किन बुद्धको जन्मबारे मान्छेले भ्रम फिजाउँछन् ?’’ भारतले गौतम बुद्द नेपालमा जन्मिएको दाबी गर्दै आएको छ । भारतलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन नेपालबाटै सुरु भएकाले बहस र विवादको विषय नबनाउन आग्रह गरे । ‘‘बुद्धका उदपदेश कालजयी छन्, आज पर्यन्त पनि उत्तिकै सान्दर्भिक छन्’’ उनले भने, ‘‘मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् ।’’

प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि शान्ति र स्थिरताका आवश्यक भएको बताए ।

लुम्बिनीमा फल्ने र फुल्ने विरुवाहरु रोप्न आग्रह गर्दै प्रधानमन्त्रीले यहाँ सुगन्ध ज्ञानमा मात्रै होइन हावामा पनि हुनुपर्नेमा जोड दिए ।

बुद्ध जयन्तीलाई विश्व उत्सवको रुपमा मनाउन सरकारले आवश्यक पहल गर्ने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले रामग्रामदेखि तिलौराकोटसम्मको क्षेत्रलाई विशेष महत्वका साथ विकास गरिने प्रतिबद्धता जनाए ।