देशमा यतिबेला साढे ३३ किलो सुन प्रकरणले चर्चा पाइरहेको छ । तस्कर र प्रहरीको मिलेमतो मात्रै खुलेको छैन, नेपाल प्रहरीका ठुल्ठुला हाकिमहरु धमाधम समातिइरहेका छन् । र, यो क्रमको सुरुवात चाहिँ मोरङको उर्लाबारी– ७ निवासी सनम शाक्यको हत्यापछि भएको हो ।
प्रहरीले सुरुमा फागुन १९ गते बिराटनगरको पोखरियामा स्कर्पियो गाडीको डिकीबाट सनम शाक्यको शव फेला पारेको बतायो । पछि सिराहाको दक्षिणी भेगतिर सुन तस्करले उनको हत्या गरेको भन्यो ।

तर, घटनाको अनुसन्धान गर्न गठित समितिले सनमको शव धरानबाट बरामद भएको बतायो । आखिर सुन तस्करसँग प्रहरीकै मिलेमतो भइसकेपछि यस्तो हुनु स्वाभाविकै हो ।
अन्ततः प्रदेश १ को प्रहरीले मोरङमा पत्रकारहरुलाई दिएको जानकारी नै सही ठहरियो । सुन तस्करहरुले मोरङको उर्लाबारीस्थित सोल्टी खोला नजिकै चारकोसे झाडीमा सनमलाई यातना दिएर मारेका रहेछन् ।
सनमलाई साढे ३३ किलो सुनकाण्डका ‘भरिया’ भएको बताइँदै आएको छ । यो काण्डबारे अहिले मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ ।
घटनास्थल खोल्दै सोल्टी खोलातिर
साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’को टोलीले सनमलाई यातना दिएको घटनास्थल खोज्दै हामी उर्लाबारीबाट उत्तरतर्फ लाग्यौं ।
चौरबाट अलि भित्र जंगलमा तीनवटा रुखमा पालैपालो बाँधेर यातना दिइएको घटनाको प्रकृतिले देखाउँथ्यो । रुखमा डोबहरु थिए, स्थानीयका अनुसार ब्याट्री र तार प्रयोग गरेर त्यहाँ सनमलाई करेन्ट लगाइएको हुन सक्छ
उर्लाबारी नगरपालिका–१ कान्छीचौकदेखि उत्तरतर्फ तीन किलोमिटरको घना जंगल छ । हामी कान्छीचौकबाट पश्चिम सोल्टी खोलापारि रहेको प्रगति सामुदायिक वन क्षेत्रतर्फ लाग्यौं ।
त्यहाँ गाडी चढन अप्ठेरो भएपछि अलिकति माटो खनेर गाडी उक्लने बाटो बनाइएको रहेछ । त्यही बाटोबाट गाडी सामुदायिक वनको चौरीमा सुन तस्करहरुको गाडी उक्लिएको रहेछ ।
त्यहाँ ढुंगाको सानो चुल्हो बनाएर सामान्य आगो बालेजस्तो गरेर एउटा भाँडो बसालेको सबुद भेटियो । हत्याराहरुले पिकनिक खाएको जस्तो गरेर सनमलाई दुई दिन यातना दिएका रहेछन् ।
चौरबाट अलि भित्र जंगलमा तीनवटा रुखमा पालैपालो बाँधेर यातना दिइएको घटनाको प्रकृतिले देखाउँथ्यो । रुखमा डोबहरु थिए, स्थानीयका अनुसार ब्याट्री र तार प्रयोग गरेर त्यहाँ सनमलाई करेन्ट लगाइएको हुन सक्छ ।

अनलाइन खबर बाट साभार
सवालनेपाल टिभी
https://youtu.be/Y5VvOrJEmC4










