शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ बाट इलामको धार्मिक पर्यटकीय स्थल पाथिभरासम्म जाने केवलकारको फिजिवीलिटी अध्ययन पूरा भएको छ ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले शान्तिनगर र रोङ गाउँपालिकामा रहेको पाथिभरा न्दिरलाई अव केवलकारले जोड्ने महत्वकांक्षी योजना सफल हुनसक्ने बताएका छन् । ‘अध्ययनले त्यहाँ केवलकार चलाउन सकिन्छ भन्ने देखाएको छ‘ – अध्यक्ष भुजेलले भने ‘ दाताको खोजी गरेर सोबारे प्रकृया अगाडी बढाउने सोच छ ।’
बुद्धशान्ति गाउँपालिकाका प्रशासकिय अधिकृत मनोज राउतले न्यु प्लानेट इन्जिनियरिङ कन्सल्टेन्सीले फिजिविलीटी अध्ययन गरेको जानकारी दिएका छन् । प्रशासकिय अधिकृत राउतले न्यु प्लानेट इन्जिनियरिङले शान्तिनगरको गौंडाबाट पाथिभरा मन्दिर जाने केवलकारको फिजिवीलिटी अध्ययन गर्न ४ लाख ९८ हजार रुपैंया खर्च भएको बताएका छन् । राउतका अनुसार अध्ययनले केवलकारको दूरी ३.२ किलोमिटर रहने देखाएको छ ।
यद्यपी हाल अध्ययन भएको ठाउँभन्दा फरक ठाउँ बुद्धशान्ति –६ को अचलेश्वर मन्दिर आसपासबाट केवलकार सञ्चालन गर्दा भौगोलिक अवस्थाले सुरक्षित हुने भन्दै सो स्थानबाट बनाउँदा ठिक हुने सोचाईमा आफू रहेको गाउँपालिका अध्यक्ष भुजेलले बताएका छन् ।
मनकामना मन्दिरजाने केवलकारको फिजिवीलिटी अध्ययन गर्ने कन्सलटेन्सीले नै सोको अध्ययन गरेकाले यस क्षेत्रमा केवलकार सञ्चालन हुने आशा बढ्दो छ ।
रोङ गाउँपालिकामा रहेको धार्मिक पर्यटकीय क्षेत्र पाथिभरा र पर्यटनको प्रचुर संम्भावना बोकेको बुद्धशान्ति गाउँपालिकाको शान्तिनगर क्षेत्रबाट केवलकार सञ्चालन हुन सके यी दुई गाउँपालिकाको ऐतिहासिक उपलब्धि हुनेछ ।
केवलकार सञ्चालन हुन सके आर्थिक रुपमा यी गाउँपालिका संवृद्ध गाउँपालिका बन्न धेरै समय कुर्नै पर्दैन । केवलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदनले १ अर्व जति लाग्न सक्ने देखाएको गाउँपालिका अध्यक्ष भुजेलले बताएका छन् । ‘गौंडाबाट सञ्चालन गर्दा ८२ करोडको प्रारम्भिक लागत निस्किएको छ तर भौगोलिक सुरक्षाका दृष्टिले अचलेश्वर मन्दिर आसपासबाट गर्दा लागत बढ्न सक्ने अवस्था अध्ययनले देखाएको छ ।’– अध्यक्ष भुजेलले भने ।
यता गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले केवलकार निर्माण गर्न सकिने कुरा अध्ययनले देखाएकाले गाउँपालिका यस कुरामा गम्भिर भएर लाग्ने बताएकी छिन् । स्थानीय निकायको चुनाव ताका एमालेको घोषणा पत्रमा नै समेटिएको विषय भएकाले पार्टीले पनि यसलाई महत्वका साथ हेरेको बताउँदै ५ वर्ष भित्र ठोस काम हुने जानकारी दिइन् ।
पर्यटन क्षेत्रको विकास गरेर अघि बढ्न सके हामी सबैलाई प्रत्यक्ष फाइदा पुग्ने महसुस गरेर गाउँपालिका यस विषयमा लागि पर्ने अध्यक्ष भुजेलले बताएका छन् । ‘लागत ठूलो भएकाले केवलकार निर्माण गर्न ठूला संस्था वा दाता खोज्नुपर्ने हुन्छ, त्यसका लागि हामी लागिपरिरहेका छौं ।’– अध्यक्ष भुजेल भन्छन् ‘केवलकार आर्थिक संवृद्धिको आधार हो ।’










