काठमाडौं, १८ वैशाख । पूर्वडीआईजी एवं एमाले सांसद नवराज सिलवाल अहिले आत्मकथा लेखिरहेका छन् । आफूलाई आईजीपी बन्नबाट कसरी रोकियो, सरकारी कागज कीर्ते अभियोगको वास्तविक घटना र राजनीतिमा आउनुपर्ने बाध्यतालगायतका विषयमा पुस्तक लेखिरहेको उनले जानकारी दिएका छन् ।
कान्तिपुर टेलिभिजनबाट सोमबार राति प्रसारण भएको ‘फाइर साइड’ मा साहित्यकारसमेत रहेका सिलवालले सो कुराको जानकारी गराएका हुन् । ‘एउटा इमान्दार प्रहरी अधिकृतको व्यावसायिक जीवन कसरी सिध्याउन खोजियो, त्यस विषयमा नयाँ पुस्तालाई जानकारी दिन पनि पुस्तक लेख्न लागेको हुँ,’ सिलवालले भने ।
उनले आफूलाई सिध्याउन कांग्रेस नेतृत्वको सरकार लागेकाले बाध्य भएर राजनीतिमा लागेको बताए । सुरुदेखि नै आफू कम्युनिस्ट पार्टीमा नलागे पनि एमाले अध्यक्षले आफूमाथि भएको ज्यादतीबारे संसदमा बोलिदिएकाले एमाले प्रवेश गरेको उनको भनाइ छ ।
सांसद सिलवालले आफूलाई आईजी बन्नबाट रोक्न सुन तस्करहरू नै लागेको समेत दाबी गरे । ‘मलाई आईजी बन्नबाट को को सुन तस्कर लागेका छन्, सबै थाहा छ,’ सिलवालले भने । उनले दुबई र चीनबाट सुन तस्करी हुने गरेको र एकचोटिमा ३३-३४ किलोभन्दा बढी सुन ल्याउन नपाइने अवस्था रहेको बताए । सुन तस्करहरूको नेपालका राजनीतिज्ञहरूसँग सम्बन्ध रहे पनि अहिले नै पुष्टि गर्न नसकिने बताए । भारतमा भने पैसाको सट्टा सुन घुस दिने गरेको, विभिन्न राजनीतिक दलका नेतासँग सुन तस्करको सम्बन्ध रहेको आफू सीआईबी प्रमुख हुँदा जानकारी पाएको उनले बताए ।










