प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुक निरर्थक बहस र विवादमा नअल्मलिने बताएका छन् । जनतालाई सार्वभौम र अधिकारसम्पन्न बनाउने बाटोमा मुलुक अगाडि बढिसकेको प्रधानमन्त्री ओलीले बताए । दोस्रो पटक प्रधानमन्त्री भएयता पहिलो पटक गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले विगतमा आफूले सामन्ती शासनबाट मुलुकलाई मुक्त गरेर सार्वभौम बनाउने शंकल्प गरेको स्मरण गरे । सिंगो देशमा जनता र जनप्रतिनिधिको आकांक्षा विकास रहेको उनको भनाइ थियो । ‘निरर्थक बहस र विवादमा अल्झिने होइन, देश अघि बढ्न चाहन्छ,’ भद्रपुर नगरपालिकास्थित जिल्ला समन्वय समिति झापामा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब कुनै मुद्दा ज्यूँदो राख्नुभन्दा गरिबी समाप्त पार्नतर्फ लाग्छौँ ।’

मुलुकमा बनाइएका शासन प्रणाली र संरचनामा धरमर नगरी अघि बढ्नुपर्ने बताएका प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्नेहरुलाई ‘मानसिक गुलाम’ को संज्ञा दिएका छन् । ‘देश संघीयतामा गइसक्यो,’ उनले भने, ‘अब एउटा व्यक्तिको हुकुम होइन, जनताको हुकुम ठूलो हो ।’ मुलुकको अहिलेको व्यवस्था कुनै उपहारमा प्राप्त नभइ आफूहरुले लडेर ल्याएका कारण प्यारो रहेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले झापाका सम्पूर्ण जनप्रतिनिधिहरुलाई विकास निर्माणका काम तीव्र गतिमा गर्न गराउन निर्देशन दिए । गृहजिल्ला पुग्दा प्रधानमन्त्री ओलीले अर्जुनधारा जलेश्वरधामदेखि किच्चकवधसम्मको स्मरण गरे । उनले झापाली भूमि ऐतिहासिक रहेको उल्लेख गरे । झापाली भूमि पर्याप्त धान फल्ने, सिँचाइ सुविधायुक्त र उर्वर रहेको बताए । झापामा धानसँगै मकै, सनपाट, नरिवल, सुपारी, आँप, लिचीको खेती राम्रो हुने बताएका प्रधानमन्त्री ओलीले झापाबाट कृषिको आधुनिकीकरण सम्भव रहेको दाबी गरे । ‘म पहिलो पटक प्रधानमन्त्री हुँदा झापामा धान सुपरजोन त्यसै घोषणा गरेको होइन,’ उनले भने, ‘यहाँ धेरै कुराको सुपरजोन हुन सक्छ, जे पनि सुपरै सुपर ।’ झापाका सहरहरुलाई पनि आधुनिक र सुविधासम्पन्न बनाउन सकिने उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय तहलाई निर्देशन स्थानीय तहले आफ्नो ठाउँको विकासको गुरुयोजना बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । झापामा आफूले अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको योजना अघि बढाउँदा केही व्यक्तिले विवाद गरेको स्मरण गर्दै उनले दुःख व्यक्त गरे ।

‘अहिलेसम्ममा त्यो रंगशाला बनिसक्ने थियो, विवाद गरेर उधुम मच्चाए,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले रंगशालाको नाम मदन भण्डारी राख्ने भनेँ, विवाद गर्दै एउटा समिति नै बनाएछन्, त्यो समितिले के गर्छ म बुझ्दिनँ ।’ खेलकुदको विकास गर्न आफू लागिपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘तपाईंहरु ठाउँ दिनुस्, रंगशाला बनाउने काम मेरो भो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले विद्यालय जानबाट बञ्चित बालबालिका खोजीखोजी विद्यालयसम्म पु¥याउन जनप्रतिनिधिलाई निर्देशन दिए । यो महिनाभर त्यही काममा लाग्न उनको सुझाब थियो । ‘यो विद्वान पुर्खाहरुको सन्तानको देश हो,’ उनले भने, ‘यहाँ कोही पनि निरक्षर रहने छैनन् ।’ मुलुककै होचो स्थल कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म रहेको प्रदेश नम्बर–१ लाई सम्बृद्ध बनाउन सकिने उनको भनाइ थियो । ‘हामीसँग समय थोरै छ तर, धेरै कुरा गर्नु छ,’ सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले भने ।

यस्तो छ झापामा कार्यतालिका प्रधानमन्त्री ओली झण्डै एक दर्जनवटा कार्यक्रमका तालिकासहित दुई दिनका लागि गृहजिल्ला झापा आएका हुन् । जिल्ला समन्वय समितिमा सम्बोधनपछि उनले चारपाने–राजगढ सडक शिलान्यास, लक्ष्मीपुर–साधुटार सडक उद्घाटन, विरिङ पुल शिलान्यास, पाडाजुँगी–खजुरगाछी सडक शिलान्यास र अमलडाँगी–समयगढ सडक शिलान्यास गरे ।

बुधबार प्रधानमन्त्रीले दमकमा प्रथम नागरिकको प्रतिक अनावरण र खानेपानी आयोजना उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि नमूना मार्ग उद्घाटन गरी प्रधानमन्त्री ओलीले दमक गोल्डकपको पनि उद्घाटन गर्नेछन् । प्रधानमन्त्री ओली बुधबार नै राजधानी फर्किने कार्यक्रम छ । प्रधानमन्त्रीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि झापा आएका छन् । प्रधानमन्त्री झापा आएसँगै यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । नयाँ पत्रीका बाट