काठमाडौं, १९ वैशाख । एमालेसँगको पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रको सचिवालय बैठक केन्द्र्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । बिहान ११ बजेदेखि बस्ने बैठकमा हालसम्म पार्टी एकताका विषयमा भएका छलफलबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई ‘ब्रिफिङ गर्ने छन् ।

पछिल्लो तीन सातादेखि एमाले र माओवादी केन्द्रको संयोजन समिति बैठक बस्न सकेको छैन । पार्टी एकताको विषयमा बाँकी विषय टुंग्याउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिइएको छ । सोहीअनुसार ओली र प्रचण्डबीच लगातार दुई दिन छलफल भए पनि कुनै निष्कर्ष निस्केको छैन । पाँच दिनयता ओली र प्रचण्डबीच संंवादसमेत हुन सकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रचण्ड पार्टी कामका लागि चितवन गइरहेका छन् भने प्रधानमन्त्री ओली पनि अहिले जिल्ला भ्रमणमा निस्केका छन् । उनी आज राजधानी फर्कने र लगत्तै अछाम जिल्ला जाँदैछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार एक कार्यक्रममा वैशाख २२ गतेभित्रै पार्टी एकता हुन सक्ने बताएका थिए । सोहीअनुसार माओवादीको आज केन्द्रीय सचिवालय बैठक बस्दैछ । तर, प्रधानमन्त्री ओली विभिन्न जिल्लामा जाने भएकाले एकता छलफल अवरुद्ध हुन सक्ने देखिएको छ । बिहीबार साँझ ओली र प्रचण्डबीच पार्टी एकताबारे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्ने तयारी छ ।

पछिल्लो समय ओली र प्रचण्ड बीच पटक–पटक वान टु वान वार्ता भए पनि विश्वासको सट्टा अविश्वास र आशंका बढ्दै गएको छ । पार्टी एकता गर्नुअघि नै आलोपालो सरकार सञ्चालन, पार्टीमा कार्यकारी भूमिका, समान हैसियतमा पार्टी एकता हुनुपर्ने माओवादी केन्द्रले अडान राखेको छ भने एमालेले निर्वाचनअघि टिकट वितरण र हैसियतअनुसार पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

ओली र प्रचण्डबीच पद बाँडफाँडमा कुरा मिले पनि समान हैसियत, सरकारमा आलोपालो, समान हैसियतमा पार्टी एकता गर्ने विषयमा कुरा मिल्न सकेको छैन । दर्जनौंपटक भएको वार्ता र छलफलमा अडान राख्ने मात्र काम हुँदै आएको प्रचण्डका सचिवालयका एक सदस्य बताउँछन् ।