नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमाले र माओवादीबीच ६०–४० को आधारमा नभई समान हैसियतमा पार्टी एकता हुने बताएका छन् ।

समान हैसियतमा पार्टी एकता गर्न एमाले–माओवादीबीच समझदारी भइसकेको उनको भनाई थियो । एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै प्रचण्डले समान हैसियतमा केहि दिनभित्रै एकता हुने बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकपछि प्रवक्ता पम्फा भुसालले पार्टी एकता समान हैसियतमा हुने अध्यक्षले बैठकलाई जानकारी गराएको बताइन् । ‘दुई अध्यक्षबीच छलफल भइरहेको छ । एकता प्रक्रियाबारे थप छलफल भोलि पनि गर्नुहुनेछ’, प्रवक्ता भुसालले भनिन् ।

राजनीतिक हिसाबले एकता प्रक्रिया टुंगिए पनि विधान र संगठनबारे केही छलफल बाँकी रहेको भुसालले जजनाइन् । बैठकमा एमाले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुट्टे समेत बताएका थिए ।

मंगलबारमात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको केहि दिनभित्रमै दुई पार्टीबीच एकता गर्ने गरी छलफल भइरहेको सार्वजनिक गरेका थिए ।

गएको असोज १७ गते चुनाव गठबन्धनको घोषणा गर्दै एकता गर्ने सम्मको सहमति गरेका दुई पार्टीबीच एकीकरणको घोषणा भने लम्बिदै गएको छ । दैनिक नेपाल बाट साभार