काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड युनियन महासंघ नेपालबीच एकता भएको छ । संघीय समाजवादी फोरमका भातृसंगठन समाजवादी ट्रेड युनियन र स्वतन्त्र रहेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियनबीच मंगलबार श्रमिक दिवसको दिन एकताभई समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ बनेको हो ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एकता भएको घोषण गर्दै श्रमिक हकहित र संरक्षणका लागि संघर्षरत दुई संगठन एक हुनु राम्रो भएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताउँदै उनले भने, “जबसम्म सरकारसँग लिखित सम्झौता हुँदैन, तबसम्म सरकारमा जादैँनौं, बरु विपक्षीको भूमिका निर्वाह गर्छौं ।”

अध्यक्ष यादवले संविधानमा समाजवाद उल्लेख गरेपनि गरिब, अशिक्षा र बेरोजगारको अन्त्य नगरेसम्म समाजवादको कल्पना गर्न नसकिने बताए ।

एकीकरणपछि बनेको ट्रेड युनियन महासंघको अध्यक्षमा नवराज दाहाल, सहअध्यक्षमा जोगीलाल यादव, वरिष्ठ उपाध्यक्षमा अर्जुन लम्साल रहेका छन् ।

यसैगरी उपाध्यक्षमा विन्देश्वर राय यादव, सुनितादेवी बराल, प्रेम भुजेल, सपना अर्याल र हेमन्त माण्डव, महासचिवमा डिबी सरोज राई, उपमहासचिवमा हरिश दाहाल, दयाराम राई, शैलेन्द्र वैद्य र बलराम चौधरी, सचिवमा यज्ञकुमार राई, कुलमाया गोले, वासुदेव यादव, गोपाल राई, राजेन्द्र भुसाल र रामविलास यादव तथा कोषाध्यक्षमा शोभा मण्डलसहित ८७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको महासंघले जनाएको छ ।