विष्णुप्रसाद पोखरेल दमक/प्रधानमन्त्री केपी शर्मा ओली दमक सहित झापालाइ नेपालकै नमूना ब्यापारीक केन्द्र ‘हव’ बनाउने बताएकाछन् । उनले व्यवस्थित शहर बनाउन र कृषिमा आधूनिकरणका लागि ठोस योजना एवं कार्यक्रम बनाएर अघि बढ्न स्थानीय सरकार एवं जनप्रतिनिधिहरुलाइ निर्देशन दिदै त्यसमा आफ्ना साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाए ।

झापाको दमक नगरपालिका वडा नं. ६ मा नगरपालिका र स्थानीय उपभोक्ताले बनाएको नमूना बजार एवं पार्कको उद्घाटन गर्दै ओलीले भने, अब दमक देशकै नमूना एवं ब्यवस्थित बजार भएको शहरको रुपमा बिकास गर्नु पर्दछ, यो कामको शुरुवात भइसकेको देख्दा मलाइ खुसि लागेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विकासका लागि सामुहिक तथा सहकारीमा आधारित रहेर काम गर्नु पर्नेमा जोड दिदै यस क्षेत्रका साँसद समेत रहेका प्रधानमन्त्री ओलीले भने, सहकारीताको माध्यमबाट हुनसक्छ या अरु कुनै माध्यमबाट हुनसक्छ आर्थिक विकास र सम्बृद्धिका लागि आयआर्जनमा समेत टेवा पुग्ने खालका काम अघि बढाउनु पर्दछ ।

दमकको वडा नं. ६ मा एक करोड ३५ लाखको लागतमा पार्क सहितको नमूना बजार निर्माण गरिएको हो । दमक नगरपालिकाको १ करोड २० लाख र उपभोक्ताको १५ लाखभन्दा बढिमा यो निर्माण भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।

यसको परिकल्पना गर्ने र निर्माणको शुरुवात गर्ने दमक नगरपालिकाका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं हाल प्रधानमन्त्री ओलीका नीजि सचिब युवराज दाहाललाइ दमक नगरपालिकाको तर्फबाट सम्मान गरिएको थियो ।

लायन्स स्तम्भ आकर्षण लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टे बनाएको लायन्स स्तम्भ र त्यसमाथि भएको सिंहको मूर्तिले नमूना बजार एवं सडकको थप आकर्षण बढेको छ । प्रधानमन्त्री ओलीले समेत यसले यहाँको शोभा बढाएको जनाएपछि लायन्सकर्मीहरु उत्साहित भएकाछन् ।

लायन्स क्लव अफ दमकका अध्यक्ष रुद्र गौतमले यो सबैको सहयोग र साथले सम्भव भएको भन्दै निर्माण उपभोक्ता समिति र नगरपालिकाप्रति आभार प्रकट गरे । आफ्नो क्लवका सबै सदस्यहरुको बिशिष्ठ योगदान र सहयोग रहेको उनको भनाइ छ ।

लायन्स लिडर अजय अग्रवालले यो दमकका मात्र नभएर देशभरका लायन्सहरुका लागि गर्वको विषय भएको जनाए । नगरपालिका र सडक निर्माण उपभोक्ता समितिले लायन्सको गरिमा बुझेको भन्दै उनले समेत खुसि प्रकट गरे ।