प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बिहान डेढ घन्टा कुराकानी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा पार्टी एकता प्रक्रियालाई अन्तिम रूप दिन दुवै नेता सहमत भएका थिए ।
प्रचण्डको निजी सचिवालयले दिउँसो ३ बजे पुनः दुवै पार्टीका अध्यक्षबीच कुराकानी हुने जनाएको छ । दिउँसोको छलफलपछि एमाले माओवादी एकता संयोजन समिति बैठक बस्ने छ । सम्भवतः आजै पार्टी एकताको मिति तोक्ने गरी दुवै अध्यक्ष लागेको माओवादी नेता दीनानाथ शर्माले बताएका छन् ।
एमाले र माओवादीबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भएको छ । मोदी आएपछि यदि पार्टी एकता भएमा भारतले मिलाइदिएको सन्देश जान सक्ने भन्दै दुवै दलका नेता वैशाखभित्रै पार्टी एकताको पक्षमा देखिएका छन् । पछिल्लो समय एमाले र माओवादीबीच पार्टी एकताका लागि भारतीय पक्ष सक्रिय भएर लागेको छ ।
पार्टी एकताकै सन्दर्भमा बुधबारका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक भने स्थगित भएको थियो । बैशाख २२ गतेको माक्र्स जयन्तीको अवसरमा एकताको औपचारिक मिति घोषणा गर्ने तयारी दुवै दलले गरेका छन् ।
गत वैशाख ९ गते हुने भनिएको एकता हुन नसकेपछि ओली र दाहालबीच पाँचपटक निरन्तर छलफल भइसकेको छ । दुई दलबीच एकीकृत पार्टीमा हिस्सेदारी, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन छ ।बाह्रखरी बाट










