काठमाडौं । सार्वजनिक यातायातजस्तो अत्यावश्यक सेवामा हड्ताल गरेपछि सरकारले देशैभरका यातायात व्यवसायीलाई पक्राउ गर्न थालेको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरीले देशैभरबाट यातायात समितिका पदाधिकारी र सदस्यहरुलाई पक्राउ गर्न थालेको हो ।
नेपाल यातायात व्यवसायका महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । उनी काठमाडौँको भृकुटीमण्डपबाट पक्राउ परेका हुन् । सिटौलामाथि अत्यावश्यक सेवा सञ्चालन ऐन अनुसार कारवाही हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिएका छन् ।
त्यस्तै, प्रहरीले रुपन्देहीबाट पश्चिमाञ्चल बस व्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहामगरलाई पक्राउ गरेको छ । वुटवल यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, पश्चिमाञ्चल यातायात व्यवसायी संघका पदाधिकारी चेतनारायण बेल्वासे पनि रुपन्देन्हीबाट पक्राउ परेका छन्।
यता, लमजुङमा सार्वजनिक सवारी–साधन बन्द गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कालिका सार्वजनिक यातायात सञ्चालक समितिका अध्यक्ष कृष्णवहादुर अधिकारी सहित ५ पदाधिकारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाई रहेका छन् ।
प्रहरीले अहिले देशैभरका यातायात व्यवसायी समितिका पदाधिकारीलाई खोजी कार्य सुरु गरेको र धरपकड गरेको छ ।
एकसयभन्दा बढी सदस्य पक्राउ परे : महासंघ
यसैबीच यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले देशैभरका यातायात समितिका सदस्यहरुमाथि राज्यले धरपकड सुरु गरेको बताएका छन् ।
शुक्रबार अपरान्ह २ बजेसम्म देशैभरबाट १ सयभन्दा बढी पदाधिकारी तथा सदस्यहरु पक्राउ परेको सिटौलाले जानकारी दिएका छन् ।
महासचिव सिटौलाले भने, ‘व्यवसायीहरुलाई गिरफ्तार गर्नु अत्यन्तै दुखद छ । हाममिाथि अन्याय÷अत्याचार भयो । देशमा लोकतन्त्र हो कि के हो, हामी दुखी छौँ, हाम्रो आन्दोलन रोकिएको छैन ।’
महासंघको आकस्मिक बैठक बस्दै
यसैबीच यातायात व्यवसायी महासंघले केही समयमै आफ्नो आकस्मिक वैठक बस्ने तयारी गरेको छ । महासचिव सिटौलाले केही बेरमै आकस्मिक बैठक बसेर आन्दोलनको तयारी गर्ने उनले बताए ।
-रातोपाटि बाट साभार









