काठमाडौं– सिन्डिकेट चलाउँदै आएका सबै यातायात समितिहरुको बैंक खाता सरकारले रोक्का गर्ने भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको बैठकले उनीहरुको खाता रोक्का राख्ने र सम्पत्ति छानबिन गर्ने निर्णय गरेको हो।
गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, गर्भनर डा चिरञ्जीवी नेपाल लगायतको बैठकले सो निर्णय गरेको हो।
खाता रोक्काका लागि यातायात व्यवस्था विभागले समितिहरुको सबै विवरण अर्थ मन्त्रालयलाई पठाउने भएको छ। साथै सबै यातायात व्यवसायीहरुको सम्पत्ति छानबिनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गर्ने निर्णय समेत भएको छ।
खासगरी यातायात व्यवसायी महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्न लागिएको छ।
बैठकले आन्दोलन फिर्ता लिन व्यवसायीलाई आग्रह समेत गरेको छ। सिन्डिकेट खारेजीको विरोधमा शुक्रबार गाडी नचलाउने व्यवसायीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ।
-नेपाललाइभ बाट साभार









