२०७४ माघ ७ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा युएईबाट ३३ किलो अवैध सुन चुडामणि उप्रेती गोरेको योजनामा नेपाल भित्रिएको खुलेको छ । विमानस्थलबाट बाहिरिएको सुन हराएपछि गोरेले नै अपराध महाशाखाको टोलीलाई आफ्नो ३३ किलो सुन हराएको जानकारी गराएको प्रहरी स्रोतले बताएको छ । आफ्नो सुन हराएपछि गोरेले आफ्ना पूर्व लेखा सहयोगी मोरङका सनम शाक्यले सुन लुकाएको आशंकामा सहयोगीमार्फत् यातना दिएर हत्या गर्न लगाएको आरोप छ ।
३३ किलो सुन तस्करीबारे त्यतिबेला मात्रै चर्चा शुरु भयो, जब १४ फागुन २०७४ मा काठमाडौंको गौरीघाटबाट हराएका सनम शाक्यको हत्यामा सुन तस्कर समूहकै संलग्नता रहेको खुल्यो । १८ फागुन २०७४ मा महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल उक्त घटना अनुसन्धानका क्रममा मोरङ पुगेपछि शाक्यको हत्या भएको तथ्य सार्वजनिक भएकोे छ । महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले आफ्नो कार्यक्षेत्र र चेनअफ कमाण्ड मिचेर डीएसपी प्रजित केसी र सई सञ्जेललाई विराटनगर पठाएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
फागुन १९ गते महाशाखाले जारी गरेको विज्ञप्तिमा शाक्यको हत्या काभ्रेका टेकराज मल्ल, मोरङ उर्लाबारीका कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेले मिलेर गरेको निष्कर्ष निकालेको थियो । विराटनगर महानगरपालिका– ३ का टेकराज मल्लले चलाएको स्कारपियो गाडी जाँच गर्दा डिकीभित्र शाक्यको शव फेला परेको र उनको मृत्यु निर्घात कुटपिट र करेन्टबाट भएको महाशाखाले विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ । गृहको समितिले ३३ किलो सुन प्रकरण र सनमको हत्या प्रकरणमा एसएसपी लोहनीसहित तीन जनालाई पनि दोषी मान्दै मुद्दा दायर गरेको छ । मोरङ जिल्ला अदालतमा एसएसपी लोहनीसहित २९ जनालाई बुधबार उपस्थित गराइएको थियो भने गोरेसहित अन्यलाई फरार प्रतिवादीको सूचीमा राखिएको छ ।
मोरङ, उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेती गोरे नै पछिल्लो सुन प्रकरणका सर्वाधिक खोजीमा रहेका व्यक्ति हुन् । लामो समय दुबई बसेर फर्केका गोरेले नै प्रहरीका उच्चपदस्थ अधिकारी र विमानस्थलका कर्मचारी हातमा लिएर संगठित रूपमा सुन तस्करीको जालो फैलाएको अनुसन्धान अधिकारीहरूको बुझाइ छ ।
स्रोतका अनुसार गोरेकी श्रीमतीसमेत हाल दुबई बस्छिन् । गोरेकै योजनामा दुबईबाट आउने सुन विमानस्थल हुँदै बाहिरिन्थ्यो र स्थलमार्ग हुँदै त्यसलाई भारतीय बजार पु¥याएर बेचिन्थ्यो । संगठित समूह नै बनाएर गोरेले सुन तस्करीलाई निरन्तरता दिदै आएका थिए । जसमा गोरेले आफूनिकटका प्रहरी उच्चपदस्थ अधिकारी र सुन व्यापारीलाई समेत हातमा लिएका थिए । गोरेका बुवा पनि प्रहरी सहायक निरीक्षकबाट अवकाश लिएका थिए । गोरेकै बुवाको विश्वासमा प्रहरी अधिकारीहरु विश्वस्त बनेको तथ्य समेत खुलेको छ ।
गोरे प्रहरीका निम्ति सुराकीको भूमिकामा थिए । गारेले विमानस्थल हुँदै बाहिरिने एकाध केजी सुनको केही सूचना समेत प्रहरीलाई दिन्थे । त्यसैले उनको अनुसन्धानमा संलग्न प्रहरीको एउटा तप्कासँग राम्रो सम्पर्क थियो । गोरेले जिल्लास्थित विभिन्न दलका नेतालाई अप्ठ्यारो पर्दा र चुनावका बेला आर्थिक सहयोग समेत गर्ने गरेका थिए । गोरेले दुबई प्रहरीमा समेत केही समय काम गरेको सूचना अनुसन्धान समितिले पाए पनि त्यसलाई पुुष्टि हुने आधार भने फेला पारिसकेको छैन । पछिल्लो समय गोरेले दुबईमा बस्ने पत्नीको सहयोगमा सुन तस्करीको धन्दा अगाडि बढाइरहेका थिए ।
https://youtu.be/H7cAOKS5jwUजनता समाचार बाट










