आम साधारणले थोरै कमाई गरेपछि चाहना राख्छन् घर बनाउने । तर भीआइपी र शक्ति केन्द्रका मान्छेलाई घर बनाउन के खाँचो ? त्यहाँमाथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ।

शान्ति प्रक्रियामा आएपछि लामो समय नयाँ बजारको घरमा बसेका प्रचण्ड केही समयपछि लाजिम्पाटमा डेरा सरेका थिए । अघिल्लो वर्ष छोरा प्रकाशको निधन भएपछि खुमलटारमा डेरा सरेका प्रचण्डले घर बनाउने निधो गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चितवन–३ बाट निर्वाचन लडेका उनले काठमाडौं वा चितवनमा होइन, कास्की जिल्लामा घर बनाउने तयारी गरेका छन् । जसका लागि उनी जग्गा खोज्न, जन्मथलो पुगेका छन् ।

शुक्रबार पोखरा बास बसेका प्रचण्ड शनिबार विहान दलबल र सुरक्षा घेरासहित कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा पुगे । सो ठाउँ प्रचण्डको जन्मथलो हो । उनी त्यहाँ पुख्र्यौली थलोबाट विस्थापित नहुने सोचका साथ एउटा चिटिक्कको घर बनाउने तयारीमा छन् ।

‘घर बनाउनका लागि जग्गा हेर्ने कुरा छ । पुख्र्यौली केही सम्पत्ति पनि रहेछ, जग्गा अपुग भएको हुनाले जग्गा किनेर घर बनाउने सोचमा अध्यक्ष हुनुहुन्छ’, प्रचण्ड सचिवालयका एक सदस्यले भने,‘अहिलेसम्म आफ्नै घर भन्ने त अध्यक्षसँग छैन । उहाँ डेरामा नै हुनुहुन्छ ।’

जग्गा खोज्ने क्रममा उनीसँग राजनीतिक प्रगतिका विषयमा स्थानीयवासीले सोधेका थिए । त्यसको उत्तरमा उनले नेकपा एमालेसँगको एकताको सबै विषय टुंगो लागेको र पार्टी एकता संयोजन समितिले खाका तयार पारिरहेको बताए ।

‘विहीबार सबै कुरा मिलिसकेको छ अब त्यसको लिखित दस्तावेज तयार पारेर घोषणाको मिति तय हुनेछ ।’, उनले भने,‘काठमाडौं फर्केलगत्तै प्रगतिको समाचार सुन्नुहुनेछ ।’

माओवादी अध्यक्ष प्रचण्डले अबको ५ वर्षमा बाम गठबन्धनको सरकारले राम्रो गरे ५० वर्षसम्म कम्युनिष्ट सरकार चल्ने पनि दाबी गरेका थिए ।

दैनिक नेपाल बाट