काठमण्डौ/केही समय अगाडि माओवादी केन्द्रबाट अलग भएका नेता विश्वभक्त दुलाल ‘आहुति’को संयोजकत्वमा नयाँ पार्टी घोषणा भएको छ।

माक्र्सवादका पर्वतक/विचारक कार्ल माक्र्स २०० औँ जन्म जयन्तीको अवसर पारेर ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल’ गठनका लागि नयाँ अभियान घोषणा भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणका लागि ‘वैचारिक, राजनीतिक तथा सांगठनिक अभियान समिति-२०७५’ नाम दिइएको उक्त अभियानमा ५१ सदस्य रहेका छन्।

अभियानमा माओवादी परित्याग गरेको आहुतिका साथमा बलाराम तिमिल्सिना, जागृत रायमाझी, धु्रव पराजुली राजेश्वरी सुवेदी र एमाले परित्याग गरेर आएकी धनकुमारी सुनवार लगायतका रहेका छन्।

‘विश्व सर्वहारा-श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सको द्विशतवार्षिकीको विशेष सन्दर्भमा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको संगठित पहल शुरु भएको घोषणा गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी र गौरव महसुस भएको छ’, संयोजक आहुतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शुक्रबार काठमार्डौँमा सम्पन्न कम्युनिस्ट क्रान्तिकारीहरुको भेलाले पार्टीको विचारधारात्मक राजनीतिक कार्यदिशा पास गर्नुका साथै उक्त अभियानको घोषणा गरेको हो।

भूमण्डलीकृत पूँजीवादका विरुद्ध वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित अभियान सुरु हुन लागेको भन्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको अभियानमा पहलकर्मीका रुपमा जोडिन अभियानले सबैमा अपिल समेत गरेको छ।