विराटनगर- नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो।
अध्यक्षका उम्मेदवार लुइँटेलले ९३१ मत प्राप्त गरेका छन्। त्यस्तै, उपाध्यक्षमा सोमनाथ सुसेली ९२३ मतका साथ विजयी भएका छन्।
महिला उपाध्यक्षमा स्मिता निरौला ८५८ मतका साथ विजयी भएकी छन्। महासचिवमा विवेक गौतम ८८४ मतका साथ विजयी भएका छन्।
त्यस्तै, समावेशी सचिवमा बुद्धवीर राई, खुल्ला सदस्यहरुमा डिल्लीराम खतिवडा, तीर्थ सिग्देल, बुद्धिप्रसाद लामिछाने (विमल), विपेन्द्र गौतम र शशी कोइराला निर्वाचित भएका छन्।
मधेशी सदस्यमा जयकृष्ण यादव र ब्रम्हदेव यादव निर्वाचित भएको पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगुले जानकारी दिए।
यसअघि नै महासंघको प्रदेश नं १ समितिको खुल्ला सचिवमा हरिकुमार राई, कोषाध्यक्षमा अम्बिका भण्डारी, महिला सदस्यमा रीता मोक्तान, तीलकुमारी शर्मा, रेजिना गौतम, समावेशी सदस्यमा केशव लामा, गणेश साम्पाङ, दलित सदस्यमा सन्तोष रुचाल र अल्पसंख्यक सदस्यमा इकलाव अहम्मद निर्विरोध निर्वाचित भइसकेका छन्।
जित हात पारेका लुइँटेलले सबै पत्रकारको हक अधिकार सुनिश्चित गर्ने कार्यमा आफू लागि पर्ने बताए। स्थानीय एक एफएमका संस्थापक समेत रहेका नवनिर्वाचित लुइँटेलले भने, ‘स्थानीय सञ्चारमाध्यमको विकास प्रर्वधन र कार्यरत श्रमजिवीको पारिश्रमिक लगायतको विषय आफ्नो प्राथमिकतामा रहनेछन्।’










