काठमाडौंको बसुन्धरामा मोटरसाइलक चालकलाई ठक्कर दिने जीप चालकसँग पेस्तोल भेटिएको छ । पेस्तोलसहित लमजुङको सुन्दरबजार ३ घर भई हाल काठमाडौंको गैरीधारा बस्ने ४२ वर्षीय सुमन थापा पक्राउ परेका हुन् ।
उनले चलाएको बा ३ च १६५४ नम्बरको निशान जीपले बा ४० प ५७७५ नम्बरको मोटरसाइकललाई गएराति सवा ११ बजे ठक्कर दिएको थियो । जीपको ठक्करबाट घाइते २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको छ । स्याङ्जा पुतलीबजार ३ घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्याङ्जा पुतलीबजारकै अर्जुन बोहोरा घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका थापालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेर अनुसन्धान भइरहेको छ ।
ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिन चेकजाँच गर्दा अगाडिको सिटबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको एकथान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
पेस्तोलसँगै एक थान म्यागजिन र ३ राउन्ड गोलीसमेत बरामद भएको छ । ठक्कर दिने जिप चालकको साथबाट पेस्तोल समेत बरामद भएपछि घटना रहस्यमय बनेको छ ।
थापा अपराधिक समूहमा हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।










