माओवादी केन्द्रका अध्यक्ष यतिखेर पोखरामा छन् । उनी शुक्रबार पोखरा गएका हुन् । कास्कीको ढिकुरेपोखरी प्रचण्डको जन्मस्थान । आफ्नो जन्मस्थान पुगेर प्रचण्डले आफू घर बनाउन जग्गा खोजिरहेको जानकारी दिए । उनले आफ्नो परिवार नै चितवनबाट कास्की सर्नेसम्मको कुरा गरे ।

केही दिनअघि प्रधानमन्त्री केपी ओली गृहजिल्ला झापा पुगे । दुई दिन झापा बसेका ओलीले दमक फुटबल प्रतियोगिताको उद्घाटन गर्दै भने, ‘तपाईहरू जग्गा खोज्नुस्, म रंगशाला बनाउँछु ।’ उनले नेपालका कुनै पनि रंगशाला हेर्न लायक नरहेको समेत बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विगत केही समयदेखि नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी जग्गाको खोजीमा छन् । उनी आन्तरिक विमानस्थल त्रिभुवन विमानस्थलबाट सारेर अन्यत्रै लैजाने अभियानमा छन् । सोही कारण उनी सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई लिएर काभ्रेको नालाभन्दा माथि नागीडाँडा पुगे । मुलुकको आन्तरिक विमानस्थलका लागि सो ठाउँ उपयुक्त भएको बताइएको छ ।

सरकारी जग्गा धेरै खोजेर हिँड्नेमा कलाकार सीताराम कट्टेल धुर्मुस बढी पर्छन् । उनले अहिलेसम्म चार ठाउँमा सरकारी जग्गा लिएर बस्ती बसाइसकेका छन् । अहिले उनी अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र नमुना नेपालका लागि जग्गा खोजिरहेका छन् । पाँच सातवटा जिल्ला भ्रमण गरे पनि धुर्मुसले ललितपुर गोदावरीस्थित मत्स्यपालन केन्द्रको जग्गा फेला पारेका छन् ।

यतिखेर धुर्मुसबाहेक ओली, प्रचण्ड र अधिकारी सरकारमा छन् । प्रचण्ड सरकारमा नभए पनि उनको पार्टी सामेल छ । सोही कारण उनीहरूले आफूहरू जग्गा खोजिरहेको भन्नै पर्दैन । अझ प्रधानमन्त्री र मन्त्रीले त यो कुरा भन्ने नै होइन । तर, उनीहरू आफैं सरकारी पदमा बसेर उपयुक्त जग्गा खोजिदिन जनतालाई आग्रह गर्छन् । यसको बुद्धिजीवीहरूले निकै आलोचना गरेका छन् ।