नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो साढे २ बजे बोलाइएको बैठकमा आजदेखि शुरु हुने संसदको दोस्रो अधिवेशनमा विषयमा छलफल हुनेछ । यसअघि एमाले र माओवादीको संसदीय दलको बैठक संयुक्त बस्ने गरेपनि आज एमालेको मात्रै बस्न लागेको हो ।

अघिल्लो दुई पटक भने संयुक्त बसेको संसदीय दलको बैठकलाई एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले–माओवादीबीच जारी एकता प्रक्रिया लम्बिरहेका बेला एमालेले एक्लै बोलाएको संसदीय दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपी, दुई पार्टी एक भइनसकेको अवस्था एक्ला–एक्लै संसदीय दलको बैठक बस्नु सामान्य भएको एमाले सांसदहरुले बताएका छन् । शनिबार पनि मार्क्स जयन्तीको कार्यक्रम दुई पार्टीले एक्ला–एक्लै गरेका थिए ।

यसैबीच, प्रतिनिधिसभा र राष्ट्रियसभाको दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो ।

यो अधिवेशनलाई बजेट अधिवेशनकारुपमा लिइन्छ । संसदको मुख्य जिम्मेवारी कानून निर्माण गर्नु भएपनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत हुनेछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुई सदनसहितको संघीय व्यवस्थापिकालाई संघीय ससद भनिन्छ । आइतबार अपराह्न ४ बजे दुवै सभाका बैठक एकैसाथ सञ्चालन हुनेछ ।

संसद सचिवालयका अनुसार आइतबार दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चारवटा अध्यादेशहरु प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

आइतबारकै बैठकमा आ–आफनो सभासँगसम्बन्धी नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।