सिन्डिकेट नमान्ने कागज गरेपछि पक्राउ परेका यातायात व्यवसायी हिरासतमुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’ भन्ने व्यहोराको कागजमा सही गरेपछि राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यसहित पदाधिकारी रिहा भएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलको रोहबरमा व्यवसायीले सरकारी निर्णयअनुसार व्यवसाय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसविरूद्ध गए रूट परमिट खारेज गरेर अरू कारवाही गर्न पनि उनीहरूले मञ्जुरी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यातायात व्यवसायी महासंघका अध्यक्ष कर्माचार्य, महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वांर, महासचिव सरोज सिटौला, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र महासंघको ३ नम्बर प्रदेश संयोजक धर्मराज रिजाल अबदेखि आन्दोलन नगर्ने कागज गरेर छुटेका हुन् । सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै व्यवसायीले शुक्रबार देशभरि सार्वजनिक बस चलाएका थिएनन् । बस नचलाउने ९३ व्यवसायीलाई शुक्रबार र शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

शुक्रबार यातायात व्यवसायीहरु देशभर गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन गरेका थिए । त्यसपछि गृह मन्त्रालयले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो । अध्यक्ष कर्माचार्य, महासचिव सरोज सिटौला लगायत अधिकारी काठमाडौंमा पक्राउ परेका थिए।

पक्राउ परेका अध्यक्षसहित केन्द्रीय पदाधिकारीहरु नै कागज गरेर रिहा भएसँगै देशभरबाट पक्राउ परेका अन्य व्यवसायी पनि कागज गरेर छुट्दै छन् । केही व्यवसायी शनिबार नै छुटेका थिए ।