प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको म्यान्डेट पाएको याे सरकार कसैले ढाल्न नसक्ने बताएका छन्।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आइतबार उनले भने, ‘यो जनताको म्यान्डेट पाएको सरकार हो। विकास गर्ने कुरामा, प्रशासनिक सुधार गर्ने कुरामा सरकार दृढ छ।’ जनताकाे विश्वास प्राप्त सरकार फुकीढल (फू गर्दा ढल्ने) नभएकाे उनकाे दाबी थियाे।
केही दिन अघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ‘ओली सरकार फू गर्दा ढल्ने’ बताएका थिए। ओलीले सो भनाई लक्षित गरेर जवाफ दिँदै भने, ‘धेरै पहिला उनका अंकलले फू गरेर सरकार ढाल्दिन्छु भनेका थिए। शब्द सम्झिरहेका रहेछन्। अस्ति भतिजले फू गरेर ढाल्दिन्छु भने। माया लाग्यो।’
लोकतन्त्र कानुनीराज भएको उनको तर्क थियो। ‘कतिपयले सरकार तानाशाही भएको आरोप लगाउने गरेका छन्। तर लोकतन्त्र भनेको काननुी राज हो’, उनले भने, ‘कतिपयले मेरो नाममा पनि भन्छन्, बढ्ता बलियो भयो भनेर। नेता बलियो हुने प्रणालीलाई तानाशाही भन्छन्। जनता बलियो हुने प्रणालीलाई लोकतन्त्र भनिन्छ। हामी लोकतन्त्रमा छौँ।’
लोकतन्त्र भनेको कुनै संरचना संगठन अनुशासन, विधि विधान केही नभएको सरकार हुनुपर्ने भन्ने कुरा स्वीकार्न नसकिने उनकाे भनाइ थियाे।नेपालखबरबाट










