काठमाडौं, २३ वैशाख । तस्करहरूले विमानस्थलबाट निस्किएको सुन गन्तव्यमा पुराउनका लागि एउटा ज्याकेटमा १० किलो सुन बोक्ने गरेको रहस्य खुलेको छ ।
साढे ३३ किलो सुन गायव भएपछि खुलेको बयानका आधारमा यस्ता ज्याकेटको प्रयोग हुने गरेको तथ्य खुलेको हो ।
२ वर्षदेखि काठमाडौं खरिबोटमा टेलर्स सञ्चालन गर्दै आएका सुनिल नेपालीले दिएको जानकारीअनुसार उनले यस्ता धेरै ज्याकेट सिलाएका थिए ।
गृह मन्त्रालयको छानविन समितिलाई दिएको बयानमा ०७३ सालमा सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त टेकराज मल्ल ठकुरीका लागि १० वटा गोजी भएको ६ वटा ज्याकेट सिलाएको नेपालीले बताएका छन् ।
वरिपरि साढे ३ ईन्चको १० वटा गोजी बनाउने अर्डर उनको टेलर्समा आउने गरेको थियो । ‘के प्रयोजनका लागि बनेको थियो थाहा छैन । तर, रिमोट हाल्ने भन्दै अर्डर आउँथ्यो’, नेपालीको बयानमा छ । एउटा गोजीमा कम्तिमा सुनको एक किलोको विस्कुट अट्छ ।
बजारमा यस्ता ज्याकेट नपाउने भएकाले तस्करहरूले आन्तरिक ढुवानी र सुन गन्तव्यमा पुराउनका लागि यस्ता ज्याकेटको साहरा लिने गरेका थिए ।










