काठमाडौं । ३३ किलो सुन प्रकरणमा जोडिएर हत्या गरिएको सनम शाक्यको शव व्यवस्थापन गर्न महानगरीय अपराध महाशाखामा रहेका प्रहरीसँग पाँच करोडमा डिल भएको खुलेको छ ।
“प्रस्तुत कर्तव्य ज्यान वारदातको दिन यी प्रतिवादीहरु प्रजित के.सी., बालकृष्ण सञ्जेल र प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेतीबीच बाटोमा निकै पटक फोन सम्पर्क भएको, लाश वेपत्ता पारी केश मिलाए वापत शुरुमा रु.पाँच करोडको प्रस्ताव भएपनि डिल दुई करोडमा भएको तथ्य प्रतिवादीहरुले स्वीकार गरेको सो विषय प्रतिवादी दिवेश लोहनीलाई समेत थाहा भएको भन्ने समेत प्रतिवादी बालकृष्ण सञ्जेल र प्रजित के.सी.को वयानबाट देखिन्छ,” मोरङ जिल्ला अदालतमा दर्ता गराइएको अभियोगपत्रमा भनिएको छ, “प्रतिवादीहरुले दावी गर्नु भएको उक्त डिल अभियुक्तलाई पक्राउ गर्न गरिएको भन्ने जिकिर अन्य कुनै प्रमाण परिस्थितिले पुष्टि भएको देखिँदैन । टेकराज मल्ल ठकुरी समेतका प्रतिवादीहरुको बयान हेर्दा सुनसरीको इटहरी, धरान पुग्दा कैयौँ पटक प्रहरी नायव उपरीक्षक प्रजित के.सी. र प्रहरी नायव निरीक्षक बालकृष्ण बीच पटक पटक बाटोमा फोनबाट सनम हत्यामा संलग्न प्रतिवादीहरुलाई संरक्षण दिने, रकम जम्मा गरी राख्न लगाउने, वारदातमा संलग्न प्रतिवादीहरुलाई भाग्न उम्कन र देशबाहिर फरार हुन उपाय र तरिका समेत सुझाई आपराधिक समुहलाई सहयोग पु¥याएको तथ्य प्रतिवादी टेकराज मल्ल, गोरे भन्ने चुडामणि उप्रेती र यी प्रतिवादीहरु प्रजित के.सी. र बालकृष्ण सञ्जेल बीचको कल डिटेल्ससमेतका समेतका प्रमाणबाट पुष्टी भएको देखिन्छ ।”
अभियोगपत्रमा मृतक सनम शाक्यको हत्या मोरङ्गको उर्लावारीमा भएको, निजको हत्या गरी त्यसको फोटो समेत प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेतीले प्रतिवादी मध्येका बालकृष्ण सञ्जेललाई पठाएको र सो फोटो र वारदातको जानकारी प्रतिवादी बालकृष्ण सञ्जेलले प्रतिवादी मध्येका प्र.व.उ.दिवेश लोहनीलाई गराएको भन्ने बयानबाट देखिएको अवस्था रहेको उल्लेख छ ।
ad “लाश गाड्नलाई खाल्डो खन्ने कार्य हुँदा हुँदै प्रतिवादी बालकृष्ण सञ्जेलको आश्वासनमा लाश गाड्न खाल्डो खन्ने कार्य वन्द गरी गाडीमा लाश हाली ईटहरी तर्पm लाश लगेको भन्ने तथ्यमा समेत विवाद देखिँदैन,” अभियोगपत्रमा भनिएको छ, “यस्तो अवस्थामा घटनास्थल देखि २/३ कि.मी.नजिक रहेको ईलाका प्रहरी कार्यालय उर्लावारी मोरङ्गलाई यति ठुलो गम्भीर वारदातको जानकारी पाएका वरिष्ठ प्रहरी अधिकृतहरुले कुनै जानकारी वा सुइको सम्म दिनु भएको देखिँदैन ।”
मोरङ प्रहरीले एसएसपी लोहनीसहित ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा दर्ता गरेको मुद्दाको सुनुवाई सुरु भएको छ । बाह्रखरी बाट साभार










