विष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा क्यान्सरका कारण आफ्नो आमाको मृत्यु भएपछि दूइ छोरी मृत्यु संस्कार पुरा गर्न तथा क्रिया मार्न बस्नु भएको छ । परम्परागत रुपमा १३ दिन क्रिया बारेर बस्न प्रचलनलाइ सुधार गर्दै ७ दिनमा झार्दै उहाँहरु आमाको क्रियामा पुरुष सरह नै बस्नु भएको हो ।

दमक ७ पशुहाट नजिकै ५ दिनअघि ४६ बर्षको उमेरमा दीलकुमारी श्रेष्ठको क्यान्स रोगका कारण मृत्यु भएको थियो । उहाँका सन्तान दूइजना छोरीहरुमात्र रहेका कारण एकछिन क्रिया बार्न को बस्ने भन्ने बिषयमा बहस भएपछि दूइ छोरी २३ बर्षिया ज्ञानुमाया श्रेष्ठ र १९ बर्षिया सानु श्रेष्ठले आफूहरु बस्ने बताएपछि केहि समय सबै अचम्मित भए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतकका श्रीमान एवं छोरीहरुका बुबा नन्दकुमार श्रेष्ठले त्यसलाइ स्वीकार गर्नु भयो र अहिले उनिहरु आमाको मृत्यु संस्कार गरिरहेकाछन् । दमम बहुमुखि क्याम्पसमा स्नातक तहमा अध्ययनरत सानु श्रेष्ठले भन्नुभयो, हामी कपाल खौरेर नै बस्छौ भनेका थियौ तर गुरु र बुबाहरुले पर्दैन भनेर यसरी सेतो कपडा नै लगाएर बसेका छौ ।

उहाँहरुले आफूहरुको यो नैसंर्गिक अधिकार र हक भएको बताउनु भयो । आफ्नो आमाले आफूहरुलाइ सधै माया र ममता दिएको भन्दै आमाको आत्मको चिरशान्तिका लागि बिधिपूर्वक क्रियापुत्रीको रुपमा रहेको उहाँहरुको भनाइ रहेको छ । उहाँहरुले भन्नुभयो, बाहिर हामीलाइ जसले जे भनोस मतलव छैन, आमाको मृत्यु संस्कार राम्रोहोस भन्ने चाहाना छ ।

श्रेष्ठहरुको भ्याल बंशमा यसरी छोरीहरु क्रियापुत्री बनेर मृत्यु संस्कारमा सहभागि भएको पहिलो घटना भएको बंशका सल्लाहाकार तथा दमकका सामाजिक अगुवा राजकुमार श्रेष्ठले बताउनु भयो । उहाँले छोरीहरु पनि अब छोराभन्दा कम नरहेको र दायित्व उस्तै भएकाले यो एउटा सामाजिक क्रान्ति भएको जनाउनु भयो ।

यो संगै यहाँ अर्को सामाजिक परिवर्तन पनि आफूहरुले गर्न शुरु गरेको श्रेष्ठले बताउनु भयो । १३ दिनको मृत्यु संस्कारलाइ ७ दिनमा झारेको उहाँले जानकारी दिनु भयो । यो शूरुवातका दिनहरुमा सहज नहुने भएपनि अब भ्याल बन्धुहरुले यसलाइ अनिवार्य पालना गर्दै लैजाने समेत यहाँको भनाइ छ ।

पहिला १० दिनमा नून खाने तथा बन्धुहरु जोखिन र १३ दिनमा क्रियाकर्म सकिदै आएकोमा अहिले ५ दिनमा बन्धुबान्धवहरु नून खाएर चोखिने र ७ दिनमा क्रिया कर्म सक्ने श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, अब यहाँ आज ५ दिनमा बन्धुहरु भेला भएर चोखिने काम भएको छ र ७ दिनमा क्रियाकर्म सक्नेछौ ।