सुनसरी जिल्लाको सप्तकोशी किनारमा रहेको आश्रममा बस्दै आएका युवासन्त श्रीनिवासाचार्यलाई विराटनगरमा केहि हप्ता अघि गोली हानियो । विराटनगरमा रहेको सार्वजनिक कुटीको पुनर्निर्माण गर्न आयोजना गरिएको महापुराण शुरु हुनु भन्दा केहि घण्टा अघि उनलाई मार्ने कुचेष्टा गरे । अपराधीको गोलीले उनको छात्ती छेड्यो तर उनलाई भगवानले बचाए । अहिले स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनी सामान्य हिडडुल गर्न र अलि अलि बोल्न सक्ने भएका छन् ।
अति पीडादायी स्वरमा अति भावुक हुँदै भने ,’ यो सत्य र असत्य बिचको लडाई हो । म गाईको रक्षा गर्नुपर्छ भन्ने अभियानमा छु। धार्मिक र रास्ट्रीय जनावर गाईलाई मारकाट गर्नु हुँदैन भन्ने मेरो धारणा हो । ‘आध्यात्मिक चिन्तनबाट भौतिक विकासको अभियान’मा हिडेको मान्छेलाई जीवन निर्वाह गर्न २/४ पैसाको निमित्त युवा, जवानहरुले गोली हान्नु पशुवतकर्म हो। कम्तिमा मानवताको हिसाबले पनि त सोच्नु पर्छ नि ?’
उनको आश्चर्यता थियो,’अपराधी पक्राउ परेन भने हिड्नै गाह्रो भो। प्रहरी र सेनाले यत्ति काम नि गर्न सक्दैन ?
अन्तिममा आँखाभरि आँशु पार्दै भने,’उहाँहरुकै (शुभचिन्तक र भक्त) आर्शिवादले म आज जीवित छु। हजुरहरुले ठाउँ-ठाउँमा बत्ती बालेर, प्रार्थना गरेर मलाई बचाउनु भयो।’
घटनाबारे हामीले नेपाल प्रहरीका मोरङ ईन्चार्ज एस.पी. अरुणकुमार बिसिसँग सम्पर्क गर्यौं । उनले भने, ‘प्रहरी प्रधान कार्यालय र जिल्लाकै टोलीले विशेष अनुसन्धान गरिरहेको छ ।’ अनुसन्धान कहाँ पुग्यो भन्ने प्रश्नमा, ‘उनले भने – हामीले शंकाश्पद ५/६ जना समातेका थियौँ, अहिले २ जना थुना मै छन् ।हामी सत्यको नजिक पुग्दै छौँ तर कहिले सार्वजनिक गर्न सकिन्छ भन्न सक्दिन । २/४ दिनमा नि हुन सक्छ, केहि समय पनि लाग्न सक्छ ।’










