काठमाडौं । गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान समितिले सुन तस्करीको राजनीतिक सम्बन्ध र अहिलेसम्म भएका गतिविधिको जानकारी प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रामबहादुर थापा बादललाई गराएका छन् ।

आइतबार राति अबेर करिब ३ घण्टा प्रधानमन्त्री ओली र गृहमन्त्री थापालाई विशेष समितिले सुनकाण्डमा अहिलेसम्म भएका अनुसन्धान, समितिले गरेका काम र अबको योजनाका बारेमा जानकारी गराएको थियो । समितिले यसमा राजनीतिक सम्बन्धका बारेमा पनि जानकारी गराएको उच्च स्रोतले जानकारी दियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयमा जानकारी गराएको हो,” उच्च स्रोतले बाह्रखरीसँगको कुराकानीमा भन्यो, “करिब ३ घण्टा प्रोजेक्टरमार्फत जानकारी गराइएको थियो ।” समितिले राजनीतिक सम्बन्धका बारेमा पनि जानकारी गराएको स्रोतले बतायो ।

“यसमा राजनीतिक सम्बन्ध जोडिएको भए पनि अनुसन्धान प्रक्रियामा ल्याउनुस्,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “समितिको विश्वसनीयता घटाउन विभिन्न हल्ला पनि चलाइएका छन् । त्यस्ताको पछि नलागी आफ्नो अनुसन्धान अघि बढाउनू । यसलाई निष्कर्षमा पुर्याउनैपर्छ ।”

माघ ९ गते दुबईबाट नेपाल अवैधरुपमा ल्याइएको साढे ३३ किलो सुन प्रकरणमा सनम शाक्यको मृत्यु भएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष छानबिन समिति बनाएको थियो । समितिले गरेको अनुसन्धानपछि अहिले जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

“सुन तस्करीमा जो जोडिएको भए पनि अनुसन्धानको दायरामा ल्याउनू भन्ने निर्देशन प्रधानमन्त्री र गृहमन्त्रीले दिनुभएको छ,” स्रोतले भन्यो । समितिले यसअघि नै दोस्रो चरणको अनुसन्धान सुरु भएको जनाउँदै यसमा राजनीतिक सम्बन्ध जोडिएको अनुमान गरेको थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले समितिलाई अझै समय आवश्यक भए बढाउन सकिने बताएका थिए ।