मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको कारण मुक्तिनाथमा दर्शनार्थीलाई दुईदिनको लागि वैकल्पिक मार्ग तय गरिएको छ । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले वैकल्पिक मार्ग तोकेको हो । समितिले दर्शनार्थीको लागि छेन्गुर, झोङ, पुटाक हुँदै कागबेनीको बाटो तोकेको छ ।
प्रशासनले वैशाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको कारण दर्शनार्थी र पर्यटकलाई रोक्दा उनीहरुमा अन्यौलता उत्पन्न भएको थियो ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानपश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले वैकल्पिक पदमार्ग व्यवस्था गरिनु स्वागतयोग्य भएको बताउनु भयो । ‘पदयात्राका क्रममा उक्त क्षेत्रमा अहिले पनि धेरै पर्यटक आवजावत गरेका छन्,’ उहाँले भन्नुभयो, ‘पदयात्री पर्यटकको पदयात्रालाई नियमित एवम् सुचारु गराउन यो निर्णयले महत्वपूर्ण सहयोग पुग्नेछ ।’ जनता समाचार बाट










