संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले मोदीको दुई दिने नेपाल भ्रमणलाई सफल सबै तयारी अगाडि बढेको जानकारी दिए। ‘भारतीय प्रधानमन्त्री मोदीजीको भ्रमण सफल बनाउनको लागि सरकार, यहाँका वैधानिक राजनीतिक दलहरु, सामाजिक संघरसंस्थाहरु सक्रिय भएर लागिपरिरहेका छन्’, उनले भने, ‘अहिले हामी उहाँको भ्रमणको व्यवस्थापन गर्न अहोरात्र खटिरहेका छौं।’
उनले भ्रमणको सिलसिलामा मोदी पुग्ने स्थानमा विशेष तयारी भैरहेका बताए। मोदीलाई जनकपुर विमानस्थलमा नेपाल सरकारका बरिष्ठ मन्त्रीले स्वागत गर्ने उनले जनाए। त्यस्तै जनकपुरको जानकी मन्दिरमा मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा पूजा गर्ने कार्यक्रम रहेको पनि मन्त्री पण्डितले जानकारी दिए।
भ्रमणको दौरान राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर द्धिपक्षीय हितका विषयमा कुराहरु हुने पनि उनले जनाए।
मन्त्री पण्डितले मोदीको भ्रमणसँगै नेपाल–भारत द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने स्पष्ट पारे।
मोदीको भ्रमणपछि नेपाल–भारत सम्बन्ध उच्च स्तरमा पुग्ने बताउँदै पण्डितले भने, ‘सकारात्मक भविष्यको लागि सकारात्मक कुराहरु हुन्छन्, विगतमा भएका सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा हामी जोड दिन्छौं।’
भ्रमणको दौरान नेपाल र भारतबीच रहेको १९५० को सन्धि र सीमा विवादबारेपनि छलफल हुन सक्ने पण्डितले जनाए।










