झापा । यातायात व्यवस्था कार्यालय मेचीबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) बनाइदिने भन्दै ठगी गर्ने गिरोहका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका ४ निवासी २८ बर्षीये जीवन भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार विभिन्न १६ जना व्यक्तिबाट स्मार्ट कार्ड बनाइदिन्छु भन्दै भुजेलले नगद ८ हजार देखि ३५ हजार सम्म लिएको खुलेको बताए । भुजेलले उनीहरुबाट २ लाख ६५ हजार ठगी गरेको पीडितहरुले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी टोलीले मंगलबार पक्राउ गरेको उनले बताए । उनलाई अदालतबाट म्याद थप गरी आवश्यक अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी मानव बेचबिखन मुद्धामा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । साबिक राजगढ ६ घर भई हाल दमक नगरपालिका ४ मा खाजा पसल गरी बस्ने ४५ बर्षीय ममता सिंह राजपुत पक्राउ परेको प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतले मानव बेचबिखन तथा ओसारपसार मुद्दा लागेका सिंहलाई २०७२ मंसिर २० गते १० बर्ष कैद सजाय तथा ५० हजार जरिवानासहितको फैसला सुनाइसकेको छ । उनलाई अदालतमा पेश गरी मंगलबार झापा कारागार भद्रपुर चलान गरिसकेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।