जापान सरकारले नेपाली नागरिकलाई पनि १० बर्षको भिसा प्रदान गर्ने निर्णय गरेको छ । जापानका विभिन्न संचारमाध्यमहरुले प्रकाशन गरेको समाचार अनुसार सन् २०२० मा हुने टोकियो ओलम्पिक र पाराओलम्पिकलाई मध्यनजर गर्दै जापान घुम्न वा जापानमै लामो समयसम्म बसी काम गर्न चाहने नेपाली नागरिकहरुलाई जापान बसोबास सहज होस् भन्ने उद्देश्यले १० वर्षे भिसा योजना ल्याईएको छ । यसको साथै २०२० भित्रमा प्रति वर्ष ४ करोड विदेशी पर्यटक भित्र्याउने लक्ष्य समेत बनाएको छ ।
शुक्रबार बसेको जापानिज मन्त्रिपरिषद बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा सो निर्णय पारित गरेको बताईएको छ । १० वर्षे ‘मल्टिपल इन्ट्रि भिसा’ गतवर्ष देखि चीनियाँ नागरिकलाई दिन सुरु गरेको थियो ।
परराष्ट्र मन्त्रालयको वेवसाइटमा राखिएको सूचना अनुसार भिसा आवेदन प्रकृयालाई सहज समेत बनाइने उल्लेख गरिएको छ । हाल कायम नियमलाई परिवर्तन गरी नेपालीहरुलाई सहज भिसा दिनका लागि नेपाल सरकारको तर्फबाट गरिएको अनुरोधलाई स्वीकार गर्दै यो निर्णय लिएको बुझिएको छ ।
यो नियम नेपालबाट जापान आउनेका लागि मात्र नभई जापानमै रहेका नेपालीहरुको हकमा पनि लागू हुनेछ । जापानमा जुनसुकै अवस्थामा बसोबास गरिरहेका नेपाली नागरिकहरुले निवेदन दिन पाउने छन् । दश वर्षे भिसा आवेदन अस्वीकृत भएमा पुनः आवेदन दिन सकिने व्यवस्था समेत रहेको छ ।
हाल भिजिट भिसाका लागि नेपाली नागरिकहरुले पाउँदै आएको अधिकतम समयावधी ३ महिना र कामदार तथा अन्यले पाउँदै आएको अधिकतम अवधी ५ बर्ष थियो । विद्यार्थीहरुको हकमा पनि यही प्रकृया अपनाइने बताइएको छ । जापान आएर भाषा स्कुल पढ्दै गरेका वा भोकेशनल स्कुल वा युनिभर्सिटी पढ्दै गरेका विद्यार्थीहरुको हकमा कायम रहेको भिसा अवधी अपग्रेड गर्नका लागि अनलाइन वा अध्यागमन कार्यालयमै गएर आवेदन दिने व्यवस्था मिलाइने समाचारमा बताइएको छ ।
जापानमा बस्ने नेपालीहरुको संख्या ८० हजार कटिसकेको छ । नयाँ नियम लागू भएमा जापानमा बसोबास गरिरहेका धेरै नेपाली नागरिकहरु लाभान्वित हुनेछन् ।
नेपाली शिक्षाको प्रत्यक्ष निगरानी अन्तर्गत विश्वविद्यालयहरूको लागि एकल प्रवेश भिसा आवेदन प्रक्रियाहरू पनि सरलीकृत गरिनेछ।
नेपालबाट भिषा आवेदन दिनेहरुको हकमा भने आवेदन पश्चात मात्रै १० वर्षे भिसा दिने नदिने थाहाहुने बताइएपनि जापानमै रहेका नेपालीहरुको हकमा भने १० वर्ष जापानमा बसोबासका लागि योग्य हुनुहुन्छ कि हुन्न भन्ने बुझ्न अनलाइनमार्फत जाँच गर्न मिल्ने सिस्टम हिजो देखि शुरु भैसकेको छ । अनलाईनमा परिचय पत्र नम्बर र जन्ममिति हालेर सो जानकारी पाईनेछ ।
-परिवर्तन खबर बाट









