नेपाल विद्युत प्राधिकरणले झापाको गौरादहमा हुकिङ गरी विद्युत चोरी गर्ने मन्दिरको लाइन काटेको छ । प्राधिकरणको दमक वितरण केन्द्रले एकै दिन राधा कृष्ण, शिव, पञ्चेश्वर शिवालय, गुप्तेश्वर शिवालय, गणेश, सिधेश्वर, पुत्रपञ्चायन, परणामी, दुर्गासहित ४३ मन्दिरको लाइन काटेको हो । प्रहरी सुरक्षासतिह गस्तीमा गएको प्राधिकरणको टोलीले राजनितिक संरक्षणको आडमा वर्षौदेखि विद्युत चोरी गरिरहेका मन्दिरको लाइन काटेको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए ।
उनका अनुसार बुधबार (भोली) विद्युत चोरी गर्ने शिवसताक्षी नगरपालिकाका मन्दिरको लाइन काटिने छ । विद्युत चोरी गर्ने मन्दिरका पूजारी र सञ्चालकलाई मिटर राखेर विद्युत सेवा लिन आग्रह गरिएको वितरण केन्द्रले जनाएको छ ।
मन्दिरको लाइन काटिएकोबारे वितरण केन्द्रले गौरादह नगरपालिकाका प्रमुखलाई जानकारी गराएको छ ।मन्दिरका सञ्चालक तथा पूजारीले प्रस्ताव गरेमा नगरपालिकाले महसुल तिरेर मिटर जडान गर्ने प्रतिवद्धता जनाएको पनि सिंहले बताए ।
यस्तै गस्ती टोलीले बैगुनधुराबाट हुकिङ गरेर सञ्चालन गरिएका ५ थान सिंचाई मोटर पनि बरामद गरेको छ ।बरामद भएका मिटरबाट एकलाख रुपैयाँ बढी जरिवाना असुल गरिएको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रको प्रणालीबाट हाल १९.५ प्रतिशत विद्युत चुहावट भइरहेको छ । चोरी चुहावट नियन्त्रण अभियान सञ्चालन गरेर चालु आर्थिक वर्षमा १८.८४ मा झार्ने लक्ष्य छ ।










