(पार्थ मण्डल) झापा । बुधवार विहान हावाहुरीसंगै पानी परेपछि झापाको कचनकवलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका ७ बालुवाडी निवासी ६१ बर्षीय हर्कमाया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार बुधवार विहान हावाहुरीसंगै पानी परेपछि घरमा आगनमै बिजुलीको तार चुडिएर लिम्बुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारको क्रममा भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता बुधवार विहान हावाहुरी, चट्याङ्गसंगै परेको पानीले झापाका विभिन्न स्थानीय तहमा लाखौ क्षति भएको प्रहरीको अनुमान छ । क्षतिको यकिन तथ्याक संकलनका लागि स्थानीय प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । दक्षिणी झापाको कचनकवल धान सुपरजोन क्षेत्रमा हावाहुरी चलेपछि आँप, लिच्ची, सुपारी, नरियल लगायतका बोटमा व्यापक क्षति पुगेको छ । चैत धान खेतीको क्षतिको बारे यकिन तथ्याक आइ नसकेको जनाइएको छ । हावाहुरीले अधिकाशं व्यक्तिको घरमा समेत क्षति पुर्याएको स्थानीय बताउँछन । साथै जिल्लामा विभिन्न स्थानमा बिजुलीको पोल तथा तार चुडिएपछि विद्युत सेवा अवरुद्ध भएको छ ।