इटहरी / धार्मिक द्धन्द्ध चर्काउने उधेष्यसहित आफ्ना सहयोगी परिचालन गरी आफैँलाई गोली हान्न लगाएपछि पक्राउ परेका आचार्य श्रीनिवासले प्रहरी हिरासतमा केही पनि खान नमानेर प्रहरीलाई तनाव दिन थालेका छन् । दुई दिन अघि भारततर्फ भाग्न लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरी मोरङ ल्याइएका उनको हिंसा भड्काउने योजनाको पर्दाफास भएपछि उनले लाज र तनावका कारण खाना खान अस्वीकार गरेको स्रोतले जानकारी गराएको छ । मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी उनका सहयोगी लक्ष्मीराज अधिकारी र माधव चौधरीकै मुखबाट उनको योजना सार्वजनिक गरीदिएपछि उनले खाना खान अस्वीकार गरेको बताइएको छ । अनुसन्धानका क्रममा आत्महत्या र पटक–पटक आफूमाथि नै आक्रमणको योजना उनले विगतमा बुनेको समेत खुलिसकेको छ । हिरासत भित्रै खाना नखाई जीवन त्याग गरेर फेरि हिंसा चर्काउने मनशाय राखेको हुन सक्ने अड्कल काट्दै प्रहरी अधिकारीहरू उनलाई उनले रुचाउने परिकार खुवाउन कोसिस गरिरहेका भए पनि यो समाचार तयार पार्दासम्म सफल हुन सकेका छैनन् । मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बीसीले पक्राउ परेको दिनवाटै केहि पनि खान नमानेको पुष्टि गरेका छन् । मंगलवार रातीवाटै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बीसीले जानकारी गराए । एसपी बिसीले अस्पतालमा रहेका उनले खान अस्विकार गरेपछि ओषधि दिएर राखिएको जनाएका छन् ।
विराटनगरको जतुवामा पुराणवाचन गर्न आएको समयमा भएको गोली काण्डको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीले गोली हान्ने क्रममा प्रयोग गरिएको पञ्जा समेत बरामद गरेको छ । शौचालय गएको समयमा आक्रमण भएको थियो , आक्रमणपछि चौधरीले सोही शौचालयमा सो पन्जा फालेको भेटिएको हो । अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीले सो शौचालयको ट्याङ्की फोडेर पन्जा बरामद गरेको प्रहरी स्रोतले बताएको छ ।
आक्रमण भएको स्थानमा भेटिएको पर्चा समेत उनकै योजनामा सहयोगी अधिकारीले तयार पारेको बताइएको छ । पर्चामा धार्मिक हिंसा भड्कीने गरी शब्दहरू प्रयोग गरिएको थियो । धार्मिक हिंसा भड्काउने गरी गराएको घटनामा प्रहरीले उच्च हिन्दुवादी शक्तिको दबाबमा फितलो मुद्दा अघि बढाएको छ । हातहतियार खरखजना मुद्दामा श्रीनिवासमाथि कारबाही अघि बढाइएको छ ।
गोली हान्ने क्रममा लगाएको पन्जा बरामद भएको भए पनि हतियार भने बरामद भएको छैन । अनुसन्धानमा हतियार नभेटिएको अवस्थामा मुद्दा कमजोर बन्ने भएकैले हातहतियार तथा खरखजना मुद्दा लगाइएको प्रहरी स्रोतले बताएको छ । अनुसन्धानमा अधिकारीले हतियार दिने व्यक्ति को थियो र कहाँबाट हतियार आयो भनेर अहिले सम्म केही पनि खुलाएका छैनन् ।
उपचार पछि उनले पुराण आयोजक समितिका पदाधिकारीसँग गरेको व्यवहार र अस्पतालमै गरेको पत्रकार सम्मेलनमा उनले बोलेका कुरालाई लिएर उनीमाथि नै अनुसन्धान गर्ने क्रममा प्रहरीलाई सफलता मिलेको बताइएको छ । उनका सहयोगी द्धयको विगत केलाउँदा एक जना जेलबाट आएको व्यक्ति समेत रहेको खुलेपछि आशङ्का गर्ने ठाउँ भेटेर प्रहरीले अनुसन्धान गरेको र सफलता मिलेको अनुसन्धानमा संलग्न अधिकारीले जानकारी गराएका छन् । पहिलो किताब बाट










