प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्राका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई घण्टा लामो वार्ता भएको छ । बालुवाटारमा बुुधाबार बिहान दुई अध्यक्षबीच एक्लाएक्लै वार्ता भए पनि एमाले माओवादी केन्द्र पार्टी एकताको मिति अझै तय हुन सकेन । नेताहरुले यो वार्ताले दुई पार्टीबीच एकताको अन्तिम टुंगो लगाउने बताए पनि अझै पार्टी एकताको मिति भने टुंगो लाग्न सकेन ।
यसअघि वैशाख ९ गते नै पार्टी एकता गर्ने भनेका यी दुई पार्टीले तयारी नपुगेको भन्दै वैशाख २२ गते पार्टी एकताको मिति टुंग्याउने बताएका थिए । तर अझै पनि मिति टुंगो नलाग्नुले पार्टी एकता जटिल बन्दै गएको बुझिएको छ । पार्टी एकता संयोजन समिति र दुवै पार्टीका कार्यदलले बैचारिक र नीतिगत कुरामा कुनै समस्या नरहेको प्रतिवेदन बुझाई सकेका छन् । कार्यदलले प्रतिवेदन बुझाउँदै पार्टी एकताको अन्तिम टुंगो लगाउने जिम्मा दुवै पार्टीका अध्यक्षहरुलाई दिएको थियो । तर, अन्तिम टुंगो लगाउन पटक पटक भएको प्रयास पनि असफल बन्दै गएको छ ।
पार्टीको संगठनात्मक हिस्सेदारी, चुनाव हिन्ह, माओवादी जनयुद्ध शब्दलगायतका विषयमा सहमति नजुट्ता पार्टी एकता अन्यौल अवस्थामा पुगेको छ । पछिल्लो समय ओली र प्रचण्ड बीच पटक–पटक वान टु वान वार्ता भए पनि विश्वासको सट्टा अविश्वास र आशंका बढ्दै गएको छ । पार्टी एकता गर्नुअघि नै आलोपालो सरकार सञ्चालन, पार्टीमा कार्यकारी भूमिका, समान हैसियतमा पार्टी एकता हुनुपर्ने माओवादी केन्द्रले अडान राखेको छ भने एमालेले निर्वाचनअघि टिकट वितरण र हैसियतअनुसार पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ ।
ओली र प्रचण्डबीच पद बाँडफाँडमा कुरा मिले पनि समान हैसियत, सरकारमा आलोपालो, समान हैसियतमा पार्टी एकता गर्ने विषयमा कुरा मिल्न सकेको छैन । यसअघि गत वैशाख २० गते ओली–प्रचण्डबीच दुई पटक वार्ता भएको थियो । गत वैशाख १४ गते दुई नेताबीच भएको वार्तामा एकताको अन्तिम टुंगो लागेको बताउँदै बुद्धजयन्तीपछि वैशाख २३ गते पार्टी एकताको मिति घोषणा गर्ने नेताहरुले बताएका थिए ।
मंगलमात्रै बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा नेताहरुले बजेट निर्माणका क्रममासमेत एमालेलाई एकलौटी गर्न दिन नहुने भन्दै अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए । आफ्नै पार्टीबाट दवाव आएपछि बुधबार प्रचण्ड ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।










