ललितपुर । अष्ट्रेलियामा करिब पाँच लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू विभिन्न शिक्षण संस्थाहरूमा भर्ना भएका छन् । ती मध्ये धेरै विद्यार्थी एसियाली महादेशका छन् ।
यो अष्ट्रेलियाको १८ अरब डलर बराबरकोे तेस्रो ठूलो निर्यात उद्योग हो । तर अध्ययनको लागि अति आवश्यक सुरक्षित र घमाइलो वातावरण भएको ठाउँ भनेर कहलिएको यो देशको छविलाई सार्वजनिक भएका केही बलात्कार र यौन हिंसाका घटनाहरूले असर पार्न सक्छन् ।
घर र परिवारबाट धेरै टाढा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू झन् धेरै जोखिममा पर्न सक्छन् । प्रायः जसो अन्तर्राष्ट्रिय विद्यार्थीहरू आफूमाथि घटेका यौन हिंसाका घटनाहरूबारे कुरा गर्न धेरै डराउँछन् वा धेरै लजाउँछन् । केही छात्रा आफ्ना कथाहरू र भोगाइबारे बोल्न तयार भएका छन् । यस बारेमा एउटा भिडियो चलचित्र बनेको छ ।
‘म बसेको खाटमा मलाई घचाडियो र बलात्कार गरियो’ एक जना चिनियाँ विद्यार्थी भन्छिन् । उनी अष्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालयमा अध्ययनरत छिन् । ‘त्यो पुरुषले भनिरह्यो – ‘मलाई जे चाहिन्छ म त्यो पाएरै छोड्छु ।’ म चलमल नै गर्न सकिन । म चिच्याउन मात्र सक्थें’ उनी भन्छिन् ।
अष्ट्रेलियाको मानव अधिकार आयोगले गरेको एक सर्वेक्षण अनुसार सन् २०१५ र २०१६ मा २२ हजार विद्यार्थीले विश्वविद्यालयको हाताभित्र यौन हिंसा भोगेका थिए ।
‘पहिले हामीलाई अष्ट्रेलियाको कानूनले यहाँका नागरिकहरूलाई मात्र संरक्षण गर्छ भन्ने लाग्थ्यो । यदि हामीले उजुरी गरेमा, हामीले अरुलाई समस्यामा पार्न खोजेको भन्ने भान पर्न सक्ने र यसो गरेमा यो देशबाट हामीलाई निकाल्ने अवस्था आउन सक्छ जस्तो लाग्थ्यो । पढाइ पूरा नहुने डर लागिरहन्थ्यो’ ती चिनियाँ विद्यार्थी भन्छिन् ।
‘विद्यार्थीहरूले यौन हिंसाका घटनाहरू विरुद्ध उजुरी गरे तापनि विश्वविद्यालयहरूले प्राय आवश्यक सहयोग दिन सक्दैनन्’ त्यहाँका महिला वकिलहरू बताउँछन् ।
साभारः– अल जजीरा










