मोरङ । बहुचर्चित सुन प्रकरण र सनम हत्या काण्डका मुख्य अभियुक्त भनिएका गोरे उर्फ चुडामणि उप्रेतीले मोरङको मिक्लाजुङमा २६ कट्ठा जग्गाका लागि २१ लाख रुपैयाँ बैना दिएको रहस्य खुलेको छ ।
मिक्लाजुङ वडा न–९ को अबिर चौकमा रहेको उक्त जग्गा खरिदका लागि गोरेले जग्गाधनी जयगोपाल साहलाई २१ लाख रुपैयाँ बैना दिएको रहस्य खुलेको हो ।
साहसँग प्रतिकट्ठा ६ लाखको दरले जग्गा किन्ने सम्झौता अनुसार गोरेले २१ लाख रुपैयाँ बैना दिएका थिए । १ करोड ५६ लाख रुपैयाँमा २६ कट्ठा जग्गा किन्ने सम्झौता गर्दै गोरेले मिक्लाजुङ–९ निवासी साहलाई २१ लाख रुपैयाँ बैना दिएपनि थप रकम नदिएका कारण उक्त जग्गा पास नभएको बुझिएको छ ।
जग्गाका लागि बैना दिएका गोरे सुनकाण्डमा मुछिएपछि बैनाको रकमका बारेमा अन्यौलता देखिएको छ । मुख्य अभियुक्त मानिएका गोरे फरार रहेसँगै साह यतिबेला तनावमा छन् ।
जय गोपाल गल्ला खरिद बिक्री केन्द्रका सञ्चालक साह मधुमल्लाका पूराना व्यापारी हुन् । उनी नेपाली कांग्रेसका स्थानीय नेता समेत हुन् । यता, साहले आफूले २१ लाख रुपैयाँ बैना लिएको स्वीकार गरेका छन् ।
उर्लाबारीका समाजसेवी विजय कार्कीलगायतको रोहवरमा आफूले जग्गा बिक्रीका लागि बैना लिएको साहले स्वीकार गरेका छन् ।
जग्गा बिक्रीका लागि बैना दिएर पास नगरेका कारण आफू समस्यामा परेको उनले गुनासो गरे । क्रसर उद्योग खोल्ने भन्दै गोरेले आफूसँग जग्गा किनेको उनले बताए ।
गोरे पैसावाला भन्ने चाहिँ सुनेको तर, नामुद सुन कारोबारी भन्ने बारेमा आफूलाई जानकारी नभएको उनले बताए । जग्गाको रोहवरमा मृतक सनम शाक्य पनि रहेको बुझिएको छ ।
गोरेले पछिल्लो समय अबैध सुनबाट कमाएको पैसा जग्गामा लगानी गर्दै आएको स्रोत बताउँछ । यो घटनाको रहस्य खुलेसँगै गोरेले लगानीका विषयमा अनुसन्धान बढाउन आवश्यक देखिएको छ । यता उर्लाबारी, मधुमल्ला, दमकलगायत क्षेत्रका केही सुन व्यापारीहरुसँग पनि गोरेको कारोबार रहेको बुझिएको छ । रातो पाटि बाट










