आगामी वैशाख २८ गतेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक नेपालको भ्रमण गर्दै हुनुहुन्छ । धार्मिक भ्रमण भनिएको प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे कुटनैतिक तथा औपचारिक क्षेत्रसँगै सामाजिक सञ्जालमा समेत चर्चा व्यापक बनेको छ । जयन्ती पुडासैनीकाे रिपाेर्ट:
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको चर्चा यतिबेला सर्वत्र बनेको छ । कुटनैतिक निकायसँगै सञ्चार माध्यमहरुले समेत केही दिनयता प्रधानमन्त्री मोदीको भ्रमणलाई प्राथमिकतामा राखेको छ । जनधारणा निर्माणमा महत्वपूर्ण अर्थ राख्न थालेको सामाजिक सञ्जाल पनि प्रधानमन्त्री मोदीको भ्रमणले भरिएको छ ।
फेसबुक ट्वीटरलगायतका सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीको भ्रमणबारे विभिन्न प्रकृतिको टिप्पणी भइरहेको छ । मोदी भ्रमणको बिषयलाई बिशेषगरी यूवा पुस्ताहरुले बढी चासो राखेका छन् । धेरैले मोदीको नेपाल भ्रमणलाई भारतले तीन वर्षअघि लगाएको नाकाबन्दीसँग जोडेर टिप्पणी गरेका छन् ।
ट्वीटरमा समीरमान दीक्षित लेख्छन्, ‘लु मोदीज्यूलाई स्वागत छ, नाकाबन्दीको सम्झनासहित’, यस्तै, लिला बुढाथोकीले मोदीको नाममा जनकपूरमा चमत्कार, २० बर्षमा हुन नसकेको काम १० दिनमै भन्दै व्यग्यात्मक ट्विट गरेका छन् ।
त्यसैगरी सामाजीक सञ्जाल ट्विटरमै अर्का एक यूवाले अस्तव्यस्त काठमाडौको वास्तविकतासँग प्रधानमन्त्री मोदीको भ्रमणलाई जोडेका छन् । केही युवाहरुले भने प्रधानमन्त्री केपी ओलीलाई खबरदारी गरेका छन् । एक युवा टिप्पणी गर्छन्, ‘नेपाली जनतालाई दिएको शिक्षा भारतको बिषयमा कोही पनि नेतालाई बिश्वास गर्न सकिदैन्, लम्पसार परिहाल्छन् ।’
ट्विटरसँगै फेसबुकमा पनि मोदी भ्रमणबारे उत्तिकै बाक्लो टिप्पणी भएका छन् । सरकारले प्रधानमन्त्री मोदी भ्रमणको समयमा प्रदेश नम्बर २ मा विदाको घोषण गरेको छ, सरकारको निर्णयको बिरोधमा पत्रकार रामनाथ खनालले लेख्छन् राष्ट्रवादी सिधा, नाकावन्दीको नाइके आउँदा, सार्वजनीक बिदा, लज्जाशरम । मोदी भ्रमणका बेला सरकारले सर्वसाधारणलाई मुक्तिनाथ मन्दिरको दर्शनमा रोक लगाएको छ ।
यसको विरोधमा अधिवक्ता स्वागत नेपाल लेख्छन्, ‘मोदीलाई भगवान मानेर भक्तजनलाई मुक्तिनाथ दर्शनमा रोक लगाउने पापी सरकार मुर्दावाद !’ अर्थात्, अधिकांश सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई तीन वर्षअघि भारत सरकारले लगाएको नाकाबन्दी र प्रधानमन्त्री ओलीले अपनाउनुपर्ने सतर्कताबारे सल्लाह दिइएका छन् । जनता सामाचार बाट










