प्रेम बास्तोला 

इटहरी बैशाख २७/साढे ३३ किलो सुन प्रकरण र मोरङ उर्लाबारीका शनम शाक्यको हत्यासँग जोडिएका ३० जना अभियुक्तको मोरङ जिल्ला अदालतले बयान लिइसकेको छ। फरारसहित ६३ विरुद्ध दर्ता गरिएको अभियोगमा ३० जनालाई अदालतमा उपस्थित गराएर बयान लिने काम सकिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुलालकाअनुसार बयान सकिएसँगै बिहीबार (आज) बाट उनीहरूविरुद्ध थुनछेकको बहस हुनेछ। सबै अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रहोवरमा हुनेछ। जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा न्यायाधीश शर्माले नै थुनछेक बहसको सुनुवाई गर्नेछन्।

पक्राउ परेकामध्ये प्रहरी अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी र प्रहरी हवल्दार अमरबहादुर थापा मगरलाई अनुसन्धान निम्ति प्रहरीले म्याद थप नगरिकन सिधै पक्राउ पुर्जी थमाएर अदालतमा उपस्थित गराएको थियो। जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले गत बुधबार अदालतमा अभियोग दायर गरेकै दिन लोहनी आएका हुन्। फरार प्रतिवादीको रूपमा नाम भएका अर्का प्रहरी हवल्दार आइतबार सिधै अदालत पुगेका हुन्।

अदालतले अभियुक्त टेकराज मल्ल ठकुरीको तीन दिन तथा प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सन्जेल र डिएसपी राउतको बयान लिन दुई दिन लगाएको थियो। मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की र राजन कुमारसँग पनि दुई-दुई दिन बयान लिइएको थियो।

टेकराज शनमको शव राखिएको स्कोरपिओबाट विराटनगरमा पक्राउ परेका हुन्। उनी त्यही गाडीको चालक थिए। प्रहरी नायब उपरीक्षक केसी र सई सन्जेल त्यही घटनासँग जोडिएर अपराध अनुसन्धान महाशाखाबाट खटिएर आएको समूहका प्रहरी अधिकारी हुन्।

विराटनगर–३ मा गत फागुन १९ गते शव बरामद गरेर मोरङ प्रहरीको जिम्मा लगाएपछि वारदातस्थल सिरहा रहेको सार्वजानिक अभिव्यक्ति दिएसँगै उनीहरू अपराधमा संलग्नको सम्पर्कमा रहेको खुलेको थियो। काफ्ले र कार्की पनि शनमकै शव बरामद भएको दिन विराटनगरबाटै पक्राउ परेका थिए।

अदालतले पूर्व प्रहरी नायब महानिरीक्षक गोविन्द निरौला, निलम्बित प्रहरी नायब उपरीक्षक विकासराज खनाल, सई सन्जेल, हवल्दार अम्बरबहादुर थापामगर, जवान विष्णुबहादुर खड्कालाई सुन कारोबारमा मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेतीसँगको सम्पर्क र सहयोगी बनेको अभियोग लागेको छ।

त्यसैगरी, विमानस्थलका कर्मचारी राजन थापा, पुण्यप्रसाद तामाङ, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारू, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बीरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री र कपिलराज पुरी, सुन तस्करीका लगानीकर्ता राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङसहित राजेन्द्रकुमार शाक्य, चाचाजी भनिने महावीरप्रसाद गोल्यानसँग समेत अदालतले बयान लिइसकेको छ।

अदालतमा बयान दिएका प्रहरी अधिकारीले घटनामा आफूहरूको संलग्नता अस्वीकार गरेका छन्। एसपी लोहनी र डिएसपी केसीले असल काम गर्दा आफूहरू जबर्जस्त फस्नु परेको बयान दिएका छन्।

सुन तस्करी र शनम हत्या अभियोगमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् ६३ जनाविरुद्ध गत बुधबार अलग–अलग मुद्दा दर्ता गरेको थियो। जसमा प्रहरी सेवासँग जोडिएकाको संख्या ८ छ। उनीहरूविरुद्ध आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा मुद्दा दर्ता भएको छ। पक्राउ परेका प्रहरी अधिकारीमध्ये सई बालकृष्ण सन्जेलसहित १४ अभियुक्तविरुद्ध सबै मुद्दा दर्ता भएको छ।

मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती, वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, कृष्णकुमार अग्रवाल, प्रमोद श्रेष्ठ, छिरिङ वाङ्देल, हरिशरण खड्का, हेमन्त गौतम, मणिराम चौलागाईं, कमल कार्की, शिवकुमार गुभाजु, सुनील श्रेष्ठ, अमरबहादुर थापा, समीर अधिकारी, सन्जय अधिकारी, गीता श्रेष्ठ, प्रयास पराजुली, रामहरि कार्की, गुप्तमान भुषाल, अर्जुनप्रसाद खरेललाई फरार प्रतिवादीको रूपमा मुद्दा दर्ता गरिएको छ।

अदालतका स्रेस्तेदार दुलालका अनुसार मुद्दाको बहस सकिएसँगै अदालतले आदेश गरेपछि फरार भएका प्रतिवादीका नाममा ७० दिन पहिलो र थप ३० दिनको वारेन्ट जारी हुनेछ।

अभियुक्तका तर्फबाट बहस गर्न ४३ जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएको स्रेस्तेदार दुलालले जानकारी दिए। बहस चलिरहेका दिनमा समेत कानुन व्यवसायीका लागि वकालतनामा दर्ता गराउने बाटो खुलै रहने दुलालले बताए। वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकसहित ८ जना सरकारी वकिलले बहस गर्दैछन्।

हराएको सुनको सुराक बुझ्नेक्रममा हत्या गरिएका शाक्यको शव फेला परेको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ, मे १ च ५३९५ नम्बरको टाटा गाडी, घटना अनुसन्धानक्रममा नियन्त्रणमा लिइएको बा ३९ प ९३० को स्कुटरलगायत स्कोरपिओभित्र बरामद भएका करेन्ट लगाउन प्रयोग गरिएको १२ भोल्टका दुईटा ब्याट्री, डिसी पावरलाई एसीमा परिवर्तन इन्भटर, करेन्ट लगाउन प्रयोग गरिने तार, रड, माछा मार्ने जाल, चामल र चिनीलगायत दैनिक उपभोग्य वस्तु प्रहरीले प्रमाणका रूपमा अदालतमा बुझाएको छ ।

यसैगरी, घटनामा अनुसन्धान निम्ति गठित समिति र प्रहरीले मुख्य अभियुक्त गोरेले शनमको हत्यासँगै विभिन्न व्यक्तिसँग इन्टरनेटको प्रयोग गरी गरेको कुराकानीको भिडियो तथा अडियो रेकर्डसमेत अदालतमा पेश गर्ने भएको छ। सनम शाक्यकाे हत्यापछि उनले प्रहरी अधिकारीसँग लाश कसरी लुकाउने भनेर छलफल गरेका थिए। प्रहरी ती सबै रेकर्ड संकलन गरी अदालत पेश गर्ने तयारी गरेकाे हाे।