काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले सबै राजनीतिक गतिविधि ठप्प भएको छ । सरकारले समेत मोदी भ्रमणको तयारीमा विशेष चासो देखाएको छ । यसबीचमा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया मात्र होइन, मधेस केन्द्रित दलका गतिविधि पनि रोकिएका छन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने आन्तरिक द्वन्द्वमै रुमल्लिन पुगेको छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे कांग्रेसले औपचारिक निर्णय नगरे पनि नेताहरूले व्यक्तिगत धारणा भने सार्वजनिक गरिरहेका छन् । पार्टी उपसभापति विमलेन्द्र निधि जनकपुरमा हुने मोदीको नागरिक अभिनन्दनमा सहभागी हुने भएका छन् ।
यसैक्रममा कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले भने मोदीको नेपाल आगमनबारे टिप्पणी गरेका छन् । उनले देशको भ्रमण प्रदेशबाट गर्न नमिल्ने भन्दै मोदीको आलोचना गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले मोदीको नेपाल भ्रमण एउटा देशको हो कि प्रदेशको भ्रमण हो भन्दै पहिलो प्रश्न सोधेका छन् । उनले दुई भिन्न भूगोलमा मोदीलाई नेपाल सरकारले गर्ने भनिएको अभिनन्दन कति राष्ट्रिय हो भन्ने दोस्रो प्रश्न गरेका छन् ।
देशको प्रतिनिधित्व जनकपुरले गर्न मिल्छ कि मिल्दैन भन्दै तेस्रो प्रश्न सोधेका शर्माले चौथो प्रश्नमा भनेका छन् ‘भारतीय सैनिक उपस्थिति अतिक्रमण कि अविश्वास ?’ नाकाबन्दीको भूल बोध गरिँदै कि भुल्दै ? भन्ने प्रश्न गर्दै शर्माले भारतले गरेको नाकाबन्दीको भूललाई भुल्न खोजेका आशयका साथ पाचौँ प्रश्न सोचेका छन् । उनले प्रधानमन्त्री केपी ओलीको अन्तिम प्रश्न उनले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादप्रति लक्षित गरेका छन् । ओलीको राष्ट्रवादलाई व्यंग्य गर्दै उनले सोधेका छन्, ‘हाम्रा प्रमको राष्ट्रवाद कुन मञ्चमा सुकुला ?’
खासगरी भारतीय सैनिकको नेपाल प्रवेशको जुन रूपमा विरोध हुनुपर्ने हो, त्यो भएको देखिएको छैन । सुदूरपश्चिमका किसान नेता भीमदत्त पन्तको हत्यापछि पहिलोपटक अहिले भारतीय सैनिक नेपाल प्रवेश गरेको बताइन्छ । मोदीसँग ६६ जना सैनिक नेपाल आउँदैछन् । त्यसमध्ये केही कमान्डो नेपाल प्रवेश गरिसकेका छन् ।
यो एक किसिमको अतिक्रमण भएको आमनेपालीको ठहर छ । तर, मुलुकका कुनै पनि राजनीतिक पार्टीले यसको विरोध गर्न सकेका छैनन् । भारतले यसअघिदेखि नै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो देशको एयर मार्सल राख्ने चेष्टा गर्दै आएको थियो । मिडिया एन पी बाट साभार










