काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको विहिबार बसेको बैठकमा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएको ठूलो संख्याको भारतीय सुरक्षाकर्मीको आवश्यकता, सिमा सुरक्षा लगायतमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार हुन लागेको नेपालको भ्रमणका लागि सुरक्षा दिन भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी नेपाल आएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले के हामीले भारतीय प्र्रधानमन्त्री र उनी संगै आउने पाहुनाको सुरक्षाको प्रत्याभुति दिन सक्दैनौ ? भनी गृह र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभा सदस्य विनादेवी रानाले कालापानी र सुस्ता सिमा क्षेत्रको विषयमा प्रधानमन्त्री के.पी ओलीलाई समकक्षी मोदीसंग कुरा गर्न आग्रह गर्नुभयो । भारतीय दूतावासलाई नेपालमा ५ करोड रुपैया सम्मको योजना संञ्चालनका लागि खर्च गर्न सक्ने अधिकार दिएको भन्दै उहाँले वर्तमान सरकारको राष्ट्रवाद यही हो ?भनि प्र्रश्न गर्नुभयो ।
राष्ट्रियसभा सदस्य उतोल तामाङले दुर्गमका जनताले बोलेको राज्यले नसुन्ने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले मुगुको विकासमा ध्यान दिन पनि माग गर्नुभयो ।
बैठकमा तारादेवी भट्टले कंञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ९ मा भारतीय सुरक्षाकर्मीले महत्वपूर्ण सम्पदालाई आफ्नो कब्जामा लिई स्थानीयलाई दु ख दिने गरेको भन्दै भारतीय ज्यादति विरुद्ध तत्काल एक्सन लिन सरकारको ध्यानाकर्षण गराउनुभयो । जनता सामाचार बाट










