वाम गठन्धनको समर्थनमा झापाबाट चुनाव जितेका राप्रपा सांसद राजेन्द्र लिङ्देनले बाढी र डुवानबाट मतदातालाई जोगाउन अनशन बसौँ कि के गरौँ भनेर सभामुखलाई प्रश्न गरेका छन् ।
बिहीबार प्रतिधिसभामा बजेट सिद्धान्त र प्राथमिकताका विषयमा छलफलमा उनले आफ्नो निर्वाचन क्षेत्रका वासिन्दा बाढी र डुवानको जोखिममा रहेको भन्दै उनीहरुलाई जोगाउन अनशन बसौं कि के गरौं भनी प्रश्न गरेका हुन् ।
धेरै सांसद हुने दलले योजना पार्न संसद अवरुद्ध गर्ने गरेको भन्दै आफूले के गर्दा माग सुनुवाइ हुन्छ भनी प्रश्न गरे, ‘अलि धेरै संख्या हुने साथीहरुले त संसद अवरुद्ध गर्छौ भन्नुभयो, सभामुख महोदय म अनशन बसौं कि के गरौं ? के गर्दा त्यो गाउँका वासिन्दा डुब्नबाट जोगिन्छन् ?’
निर्वाचन क्षेत्रका साना साना योजनाहरु बजेटमा नसमेट्ने र निर्वाचन क्षेत्र विकास कार्यक्रममा पनि बजेट नदिने अर्थमन्त्रीको तयारी रहेको भन्दै लिंदेनले आलोचना गरे ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आकाशमा होइन भुइँमा टेकेर बजेट निर्माण गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाइ सुझाव दिएका छन् ।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे टिप्पणी गर्दै उनले सपना देख्नु राम्रो भए पनि बजेट निर्माणको यथार्थता पनि ख्याल गर्न आग्रह गरेका हुन् ।
सपना देख्ने कुरामा आफ्नो पनि सहमति रहेको भन्दै रिजालले सपना देख्ने बेलामा पनि तेरो र मेरो नहोस् भन्ने सुझाव दिए । ‘हो सपना देख्ने बेला आएको छ’ रिजालले भने ‘सपना देख्ने बेलामा मेरो र तेरो । देब्रे बस्ने हो कि दाहिने बस्ने भन्ने नहोस् ।’
उनले बजेट निर्माण गर्दा पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईबाट सुझाव लिन पनि आग्रह गरेका छन् । १० वर्षअघि डा. बाबुराम भट्टराईले बजेट पशे गर्दा भ्यागुतो उफ्राइ र चन्द्रमा छुने कुरा गर्नुभएको थियो, १० वर्षअघिको उहाँको कुरा मनमा लिनुहोला’ उनले भने ।
-दैनिकनेपाल बाट साभार









